“रिमिघा लेक” मा पुगेर फर्किँदा ।

अमृत काम्मु मगर
प्रकाशित : २०७७ चैत ७ गते २१:२७

“रिमिघा लेकाङ ह्वाच ङा,मृगौ शिकारी,

नाकोई डास्म आन्च ड,छाना ङा च भिखारी”

पहिला पहिला रेडियोमा बज्ने गरेको मगरभाषाको गीत निकै सुनिन्थ्यो । रिमिघा लेकका बारेमा थुप्रै गीतहरु बनेका छन ।हामी स-साना हुँदा बाजेबजैहरुबाट रिमिघा लेकका बारेमा अनेकन किंवदन्तीहरु सुनिन्थ्यो । “रिमिघाको लेकमा ठूलो सुन्तला बगैंचा छ रे । सुन्तला बगैंचाको बीचमा एउटा ठूलो गुडुचीको बोटलाई घेरेर काली नाग बसेको छ रे । त्यहाँ पुगेपछि पेटभरि सुन्तला खान पाइन्छ रे तर एउटा कुरा के भने त्यहाँको सुन्तला एउटामात्र पनि ल्याउने कोसिस गरियो भने त्यस बगैंचाबाट बाहिर निस्कनै सकिदैँन रे,जति हिँडे पनि जंगल घुमाएर त्यहीँ पु-याउँछ रे ।” यस्तै यस्तै ।

किंवदन्तीमा वर्णन गरिएको त्यो अलौकिक स्थान”रिमिघा लेक”मा अहिले पनि एक्लै,दुक्लै जाने अवस्था भने छैन,कारण घना जंगल,बस्तीबाट टाढा,एकान्त र डरलाग्दो । चिलाउने,गुँरास,काफल लगायतका रुखहरुको घना जंगल भित्र हिजो सुनिएको रहस्यमय किंवदन्तीका भग्नावशेषहरुको खोजी गर्दा सुन्तला घारी भने भेटिएन । प्राचीन मिथकहरुका सत्यता वा त्यसको पुष्टिका लागि अथवा त्यहाँको ऐतिहासिक महत्वका सम्बन्धमा त्यहाँका अग्रजहरुसंग भलाकुसारी गरेर अर्कै सामाग्री बनाअौंला अहिलेलाई हाम्रो बिना योजनाको छोटो यात्राका केही विवरणहरु मात्रै प्रस्तुत गर्ने जमर्को गर्दैछु ।

आर्यभञ्ज्याङ-रामपुर सडकखण्डको ताहुँ-देउराली देखि झण्डै ३.५ कि.मि.उत्तरतर्फ ओमभञ्ज्याङ हुँदै झोकेदी पुगिन्छ । झोकेदी माथि टिमुरडाँडासम्म मोटरगाडीमा जान सकिन्छ । एक,डेढ वर्ष पहिले रिमिघाको काखसम्मै मोटरबाटो खनिए पनि गत वर्षको वर्षाले ठुलठुला पहिरो गएपछि अहिले बाटो बन्द छ र तत्काल बाटो बन्ने अवस्था देखिएन । टिमुरडाँडामा गाडी राखेपछि लगभग ४५ मिनेट जति माथि चढ्नुपर्छ । बाटोमा कालिज,तित्रा,मृग लगायतका जीवजनावरसंग समेत जम्काभेट हुन सक्छ । सिजनको बेला प-यो भने चुत्रो,ऐसेलु ,काफल लगायतका फलफूल पनि टन्नै खान पाईन्छ ।तेर्सो-तेर्सो उकालो लागेपछि माथि समथर भु-भाग छ । टाढाबाट हेर्दा एउटैजस्तो लागेपनि त्यहा ३/४ वटा थुम्काहरु छन । पश्चिम तिरको डाँडामा ओत लाग्ने सेड साथै पिपलडाँडाको गरुङ्गा युवा समितिले बुद्धको मुर्ति स्थापना गरेको छ । पिकनिक गर्न मिल्ने चउर पनि छ । डाँडैडाँडा लाग्दा पुर्वतिरको एउटा थुम्कामा ईनार,जोगीको कुटी,तीनकन्या मन्दिर लगायतका भग्नावशेषहरु देख्न पाइन्छ । अगाडी बढ्दै जाँदा फेरि अर्को थुम्का आउँछ,जहाँ सिद्धबाबाको मन्दिर बनाईएको छ । लालीगुराँसका प्रशस्तै बोटहरु छन । अहिले(२०७७ चैत्र ७) मा भर्खर भर्खर फूल्न शुरु भएको रहेछ । गुराँसका फाट्टफुट्ट फूलहरु अवलोकन गर्ने अवसर मिल्यो । गुराँस फुलेको मौसममा यहाँको सुन्दरता विशेष नै हुने अनुमान गरियो । झोकेदीका एकजना दिदी भन्दै हुनुहुन्थ्यो,त्यहाँ ठुलै जोगी ओँडार छ रे,पानीको कुवा पनि । उत्तर पाखा अलि तल नै भएको हुँदा हत्तपत्त मान्छेहरु जाने मेसो नहुँदो रहेछ । नयाँ वर्षको अवसरमा त्यहाँ घुम्न जाने आन्तरिक पर्यटकहरुको भने भिड न‌ै हुने गर्छ ।

समग्रमा “रिमिघा लेक” प्रकृतिप्रेमीहरुका लागि एउटा राम्रो गन्तव्य हुन सक्छ । त्यसो त पिकनिकका लागि पनि उपयुक्त ठाउँ नै हो तर लगभग ४५ मिनेटको पैदल जानुपर्ने,त्यसमाथि भाँडाकुँडा,खाद्य सामाग्री,पानी सबैथोक तलैबाट लैजानुपर्ने अवस्था पिकनिकका लागि सहज भने होइन । अहिले पहिरोले बाटो बन्द भएको हुँदा भोलिको समयमा सडक सुचारु भयो भने पिकनिकका लागि सजिलो हुने चाहिँ देखिन्छ । तर खानेपानीको लागि पनि केही व्यवस्था हुन सके अझै महत्त्व बढ्नेथियो । करिब ३/४ वर्ष अगाडी यो पंक्तिकार पहिलोपटक “रिमिघा लेक” जाँदा बाटोहरु मर्मत गरेको,बाटो दायाँबायाँका झाडीहरु काटेर सफा गरेको देखेको थियो तर यसपाली वनमाराको डंगुरले मान्छे नै ढाक्ने अवस्था पायो । अत्यन्त सम्भावनायुक्त ऐतिहासिक रिमिघा लेकका लागि सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुको ध्यान जान जरुरी छ । अहिलेलाई यति नै । “रिमिघा” का बारेमा जानकार स्थानीय बुद्धिजीवीहरु लगायत इतिहासविदहरुबाट रचनात्मक,सकारात्मक प्रतिक्रियाको अपेक्षा । धन्यवाद ।


प्रकाशित : २०७७ चैत ७ गते २१:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology