कहिले च्यात्न नसकेको त्यो तस्बिर

राजन राउत
प्रकाशित : २०७७ भदौ २३ गते ९:०६

झण्डै पन्ध्र वर्ष पुग्न लागेछ त्यो तस्बिरले मेरो पर्सको एउटा कुनामा ठाउँ पाएको । यो पन्ध्र वर्षमा मैले कतिवटा पर्स फेरेँ त्यसको कुनै लेखाजोखा छैन । तर, मसँग त्यो तस्बिरले भने यो पर्सको कुनामा ठाउँ पाइरहेको छ । सायद मेरो मनको कुनामा पनि ठाउँ पाएर होला ।

पटक पटक पर्स फाटेर गयो तर त्यो तस्बिर उस्तै छ । नयाँ नयाँ पर्समा झण्डै बर्षै पिच्छे त्यो तस्बिर बसाँइ सरिरहन्छ । यसैगरी बिते पन्ध्र वर्ष । हरेक पटक पर्स परिवर्तन गर्दा विस्तृतरूपमा सबै कागजात हेरेर आवश्यक मात्र नयाँ पर्समा भित्राउँछु बाँकी च्यातिदिन्छु । तर, त्यो उनको तस्बिर कहिल्यै च्यात्न सकिँन कहिले फ्याक्न पनि सकिन ।

जीवनको पहिलो मायाको तस्बिर हो त्यो जुन पन्ध्र वर्ष कसैले नदेखी मेरो पर्समा लुकिरहेको थियो । तेह्र वर्ष भएछ श्रीमतीलाई पनि नभनी राखेको । उनका आँखा छलेर त्यो तस्बीर बसिरह्यो पर्सको भित्र कुनामा । अहिले ठूलो पश्चाताप लागिरहेको छ, किन मैले विवाह पछिका तेह्र वर्षसम्म आफ्नो माया र उनको तस्बिर बारे खुलस्त हुन सकिँन ? किनकी आफूलाई मन परेको अरु केटीको प्रशंसा गर्दा श्रीमतीमा इष्र्या होला भन्ने मेरो चिन्तनले गर्दा सबै कुा खुलस्त भन्न नसकेको हुँ ।

पन्ध्र वर्षदेखि भूमिगत त्यो तस्विर चकचके छोराले पर्सबाट निकालेर बुझाई दिएछ उसकी आमालाई । उमेरले दश वर्ष पुग्यो उ । उम्रँदैकोे तीन पात, बाबाकी गर्लफ्रेन्ड भनेरै दिएछ ।

अब ठुलो रहस्योदघाटन गर्नु थियो मलाई । चित्त बुझ्दो जवाफ मागिरहेकी थिइँन उनी । खै मेरो कथाले कस्तो प्रभाव पर्ला ऊनी माथि । तर शाहस गरेर अब खुलस्त त्यो ऐतिहासिक गाथा भन्ने हिम्मत गरेँ ।

‘कहालीलाग्दो दशवर्षे जनयुद्धको अन्तिम समय थियो त्यो । ति दिनहरुमा जिवनको कुनै ग्यारेन्टी थिएन । बलिदानका कोटाहरु धमाधम बढिरहेका थिए । उन्नाइस, बिस बर्षको त्यो उमेरमा पनि समाजलाई केहि हदसम्म बुझेर मृत्युलाई जित्न सक्ने शाहस जम्मा गर्नु साधारण मानिसले हिम्मत गर्ने कुरा होइन । एकपछि अर्काे हुने लडाँइमा शहिदको झन झन लामो लिस्ट थपिँदै जान्थ्यो । कसको यात्रा कहाँ सम्म हो कुनै पत्तो हुँदैनथ्यो । जीवन मरणको त्यो यात्राका हामी दुवै यात्रीको गन्तव्य पुगि छाड्ने संकल्प थियो ।

२०६२ साल मंसिर २३ गतेको त्यो साँझ कमरेड शीलाले भनेकी थिईन, “तपाँइ हाम्रो यो उमेर समाज र संघर्षलाई बुझ्ने उमेर हो । यो समाजका लागि केहि गर्नु छ हामीले । माया प्रेम हाम्रो व्यक्तिगत विकासमा पर्खाल हुनु हुँदैन । यो उमेर अझ बढी संसारलाई बुझ्ने र सिक्ने उमेर हो । टाढा छ गन्तव्य । हामी एक अर्कालाई सहयोग गर्दै गन्तब्य तर्फ बढिरहनु पर्छ ।”

टह टह जुनेली त्यो साँझ, खुल्ला आकाश मुनीको उनकोे साथ, मंसिर महिनाको तुषारोले सेकिरहँदा उनि अभिभावक जस्तै लाग्थिन । नजिकै जुनेली प्रकाशमा टल्किरहेका सेता हिमालहरु हाम्रै चियो गरे जस्तो लाग्थ्यो । साँच्चै हिमालको काखमै थियो त्यो बसाइ । भोजपुरको दिलखर्क, जहाँ बादलले पूर्वी कमाण्डको बैठकलाई सम्बोधन गरिरहनु भएको त्यो साँझ मलाई बादलको त्यो सम्बोधन भन्दा कता न कता उनको सम्बोधन महत्वपूर्ण थियो ।

उनिसँगको सामीप्य र उनका एक एक शब्दहरु यी पन्ध्र बर्षमा मेटिन सकेका छैनन् । टह टह जुन लाग्दा जब चिसो तुषारो पर्छ अनि म उत्तर तर्फका तिनै चिया हिमालहरु हेरेर उनलाई सम्झन्छु । त्यो साँझलाई सम्झन्छु । कतै उनि त्यहि हिमालको काखमा छिन कि जस्तो लाग्छ । अनि पर्सबाट त्यहि तस्बिर निकालेर हेरिरहन्छु । जव चिसो बढ्न थाल्छ अनि रुन मन लाग्छ मलाई । बिचैमा भक्कानिएर रोक्किएँ म ।

उनले महशुस गरिसकेकी थिइँन अब यो संसारमा कमरेड शीला छैनन भन्ने कुरा । शायद त्यसैले उनको अनुहारमा सहानुभूतिका भावहरु प्रष्ट देखिन्थे । फेरि सम्हालिएर कथालाई निरन्तरता दिएँ । ‘त्यो साँझ नै उनिसँगको सामीप्यको अन्तिम साँझ रहेछ । त्यसपछि हाम्रो कार्यक्षेत्र अलग भयो ।

झण्डै दुई महिना पछि भोजपुरको घोडेटार आक्रमण भयो । असफल त्यो आक्रमणबाट सकुशल फर्किए पनि बाटोमा हवाई आक्रमणबाट क्षतविक्षत भयो उनको शरिर । तिब्र रक्तस्राबलाई रोक्ने साथीहरुको प्रयास असफल भएपछि केहि समय छट्पटाएर सँधैलाई बिदा लिइँन उनले । मेरो आफ्नै अलग जिम्मेवारीका कारण उनको त्यो दर्दनाक पीडामा सहभागी हुन सकिँन । गन्तव्यसम्म पुग्न एक अर्कालाई सहयोग गर्ने बाचा पूरा गर्न सकिँन मैले । अधुरै रह्यो शिखर चुम्ने उनको संकल्प ।

त्यस यता मसँग पर्समा भएको त्यही एउटा उनको तस्बिर न कहिले अरु कागज झैं च्यात्न सकेँ न फ्याँक्न नै सकेँ । हृदयमा अनगिन्ती यादहरु छन उनका कहिल्यै नमेटिने । जब पहिलो पटक तिमीलाई देखेको थिएँ, तिम्रो अनुहारमा उनको झझल्को आउँथ्यो मलाई । अनि लुकि लुकि तिम्रो अनुहारमा उनलाई पढ्थेँ म ।

मेरो कुरा सुनेर निकै भावुक भइँन उनी । अघिसम्म त्यति चर्काे स्वरले स्पष्टिकरण माग्ने उनी अब प्रतिक्रिया विहिन भएकी थिइँन । नियालेर उनका आँखामा हेरें बिस्तारै दुई थोपा आँसु गडुल्किएर झरे ।

अर्काे दिन जब म कोठामा छिरेँ । भित्तामा ठूलो फोटो फ्रेममा इनलार्ज गरेर त्यो तस्बिर सजाइएको रहेछ । त्यसमा लेखिएको थियो ‘महान शहीद कमरेड शीला प्रति हार्दिक श्रदान्जली ।’ मैले आँशु रोक्नै सकिँन । त्यसैबेला उनी कोठा भित्र छिरिन अनि मलाई सुम्सुम्याउँदै भनिन् ‘उनी हामी सबैको ढुकढुकीमा छिन । सहिद कसैको व्यक्तिगत हुँदैन । न कुनै पार्टी, जाति, क्षेत्र, धर्म या सम्प्रदायको । सहिद देशको हुन्छ । उनीहरु यो देशका सहिद हुन । गणतन्त्रका जननी हुन ।’

उनको विशाल हृदयले झन झन बढी उर्लिएर आयो आँशु । अनि उनलाई अँगालेर धित मरुन्जेल रोएँ । यस्तो लाग्यो कीे शीला उनको आत्मामा प्रवेश गरेर मलाई माया पोखिरहेकी छिन ।

यो सबै दृष्य अवलोकन गरिरहेको छोरो आयो र माफी माग्यो ।

‘सरि बाबा, मैले हिजो हजुरको पर्सबाट त्यो फोटो नझिकेको भए हुन्थ्यो ।’

उसलाई लागिरहेथ्यो बाबा ममीको झगडा भयो । त्यो उसैद्वारा सिर्जित थियो । अनि मैले नै भित्ताको ठूलो फोटो देखाउँदै भनेँ उ हेर त ठूलो फोटो । यो शहीदको फोटो हो । देशको लागि आफ्ना सबै निजी सपनाहरु बलिदान गर्ने महान शहीदको फोटो हो ।

खै के बुझ्यो उसले । निकै बेरसम्म नियालेर एकटकले हेरिरह्यो उ ।

साँझ छोरीले मलाई त्यो फोटो देखाउँदै तोते बोलीमा भनी, ‘बाबा, दादाले मलेको मान्चेको फोटो भन्च ।’

‘यो शहीदको फोटो हो छोरी । शहीदहरु कहिल्यै मर्दैनन् । उनीहरु अमर हुन्छन । उनीहरुलाई माया गर्नुपर्छ हस ।’ मैले भनेँ ।

उ दादालाई गलत प्रमाणित गर्न किचन तिर दौडी । किचनमा फोटोको निकै चर्चा चल्यो अनि हजुरबालाई लिएर आई छोरी फोटो देखाउन । ‘कुन शहीदको फोटो हो हेरौं न त ।’ बाले भन्नु भयो । हजारौं शहीदको भीडमा त्यो फोटो चिन्न बालाई मुस्किल थियो । कसरी चिनाउँ बालाई, असहज महशुस गरेँ मैले ।

ढोकामा उभिरहेकी उनैले भनिन्, ‘बा, यो २०६२ सालमा भोजपुरको घोडेटार लडाँइबाट फर्कदै गर्दा हवाई आक्रमणबाट शहीद भएकी मेरी साथी कमरेड शीलाको फोटो हो । आज पन्ध्र बर्ष पछि यो तस्बिर भेटेर मैले ठूलो बनाएर सजाएकी हुँ ।’

तस्बिरको ब्याख्याले बा निकै गम्भिर देखिनु भो । शायद २०५९ सालमा ओखलढुङ्गा रुम्जाटारबाट ल्याइएका घाईतेलाई मधेश झार्न दुई रात बोके पछि गुमाएको सम्झनु भो उहाँले ।

‘दशबर्षे जनयुद्धमा जनताका हजारौ छोराछोरीले बलिदान गरेका छन् । शहीद आफैँमा सम्मानित शब्द हो । तर इतिहाँसमा पटक पटक शहीदहरु माथि अपमान भएका छन । प्रजातन्त्र आएपछि चार शहीद माथि अपमान नभएका होइनन् । रत्न कुमार बान्तवा ३७ बर्ष पछि शहीद घोषणा भए । ऋषि देवकोटालाई अपमान गर्नेको कुनै कमी थिएन । तर आजको समाजले उच्च सम्मान प्रकट गर्दछ । जनयुद्धका शहीदहरु माथि पनि पटक पटक अपमान भइरहेका छन् । आज अपमान गर्नेका सन्ततिले भोलि धिक्कार्ने छन् । समाज कहिल्यै पछि फर्कदैन ।’

यसो भनिरहँदा बा निकै अनुभवी देखिनुहुन्थ्यो । पञ्चायती व्यवस्था देखिका प्रशस्त अनुभव थिए बा मा ।

‘हजुल्बा चहिदलाई माया गल्नुपल्छ है ।’ छोरीले चेब्रे पार्दै बा लाई भनी ।

‘मेरी नातिनी पनि अब बुझ्ने भइसकी ।’ बाले छोरीलाई बोकेर आगनमा निस्कनुभयो । अनि आकाशमा चम्किरहेका ताराहरु देखाउन थाल्नु भयो ।

‘उ हेर त नानी आकाशमा कति ताराहरु चम्किरहेका छन् । तिनै चम्किला ताराहरु हुन् शहिद । उनिहरु सँधै आकाशमा रहन्छन ।’

‘दादा, कति धेलै चहिदहलु छन आकाचमा हेल्न आईज त ।’ आगन बाटै ठूलो स्वरले कराई उ ।

केहिछिन पछि आकाशका ताराहरु तेरो शहिद र मेरो शहिद भन्दै विवाद शुरु भयो उनिहरु बिच । अन्तत मैले नै त्यो विवाद समाधान गर्नुगर्यो ।

‘शहीदहरुलाई तेरो र मेरो भनेर भागबन्डा गर्यो भने यो विशाल आकाशमा उनिहरु बिलाउनेछन । त्यसैले उनिहरु हामी सबैका शहीद हुन । सँधै आकाशमा चम्किरहन्छन ।’

अनि भित्ताको तस्बिर देखाउँदै भनेँ, यिनै चम्किला ताराहरु छन र त हामीलाई उज्यालो छरिरहेका छन् ।
त्यस यता हरेक साँझ आकाशमा हेर्दै भन्छे छोरी, ‘बाबा आज पनि चहिदहलु आकाचमा चम्किलहेका छन् ।’
(राजन राउतको फेसबुक वालबाट साभार)


प्रकाशित : २०७७ भदौ २३ गते ९:०६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology