रम्भादेवीमा रोट बेच्दै “चटपटे बाजे”

अमृत काम्मु मगर
प्रकाशित : २०७७ मंसिर २७ गते १८:२९

पाल्पा,ताहुँ
मंसिर २७
रम्भा गाउँपालिका-५,ताहुँ,धोबादीका “चटपटे बाजे” अर्थात खुम बहादुर कार्की बिहान ५ बजे उठ्नुहुन्छ अनि नित्य कर्म सकेर ६ बज्दा नबज्दै नाचनडाँडा पुगिहाल्नुहुन्छ । “सबै पुजा सर्जामहरु बोकेर दौडी हाल्नुपर्छ नत्र ढिला भयो भने त दर्शनार्थीहरुको लाइन लागिहाल्छ । रोट बनाउन हतार हुन्छ”-उहाँ भन्नुहुन्छ ।
कार्कीको यो दिनचर्या शुरु भएको करिब ४ वर्ष अगाडीदेखि हो । उहाँले पुर्वी पाल्पाको प्रसिद्ध शक्तिपिठ रम्भादेवी मन्दिरको मुल प्रवेशद्वार नाचनडाँडामा बसेर भक्तजनहरुका लागि रोट बनाउने काम गर्नुहुन्छ । “म १२ साले हुँ बाबू अहिले ६५ वर्षको भएँ,यहाँ रोट बनाउन थालेको पनि ४ वर्ष जति भयो ।” उहाँले भन्नुभयो । रम्भादेवी मन्दिरमा प्रसादको रुपमा रोट चढ्ने भएकोले उहाँले नाचनडाँडामा बाँसको कटेरो बनाएर रोट तथा पुजा सामाग्री बेच्ने काम गर्दै आउनुभएको छ । पाल्पाकै प्रसिद्ध मन्दिर भैरवस्थानमा पनि रोट व्यवसाय निकै फस्टाएको देखेर त्यसैबाट प्रेरित भई आफूले पनि रम्भादेवीमा यो काम शुरु गरेको समेत कार्कीले बताउनुभयो । पाल्पा जिल्ला बाहेक रुपन्देही,नवलपरासी,गुल्मी,स्याङ्जा,पोखरा,काठमाण्डौं लगायत टाढा टाढाका स्थानहरुबाट पनि दर्शनार्थी आउने रम्भादेवी मन्दिर नजिकै रोट बनाउने सुविधा भएपछि निकै सहज भएको नवलपरासी,सुनवलबाट दर्शन गर्न आउनुभएकी ज्योति थापाले बताउनुभयो । “हामी जस्ता टाढाका मान्छेहरुलाई घरबाट रोट बोकेर आउन असम्भव हुन्थ्यो । सामान्य धुप अक्षेतामै पूजा सक्नुपर्थ्यो तर अहिले रोट बनाउने सुविधा हुँदा साह्रै खुशी लागेको छ ।”-थापाले भन्नुभयो ।
पहिलोपटक रम्भादेवी घुमौं,हेरौं,बुझौं भनेर आउने दर्शनार्थीहरुका लागि पनि रोट व्यवसायले सहजता थपेको छ। “जो मानिसहरु साथीभाइ मिलेर घुमौं भनेर आउँछन तर रोट वा पूजाको तयारी गरेर आएका हुँदैनन् हो तीनीहरुका लागि पनि यहाँ रोटसहित पूजाको सबै सामान उपलब्ध हुने भएपछि धेरै सजिलो भएको छ ।”-अर्का दर्शनार्थी पाल्पा देवीनगरका धन बहादुर कवरले भन्नुभयो ।
कुनैबेला दैनिक १०० भन्दा बढीसम्म रोट बेच्नुभएका कार्कीले कोभिड-१९ को कारण अहिले व्यापार घटेको दुखेसो पोख्नुभयो । “पहिले त राम्रै थियोे । गएको चैत(२०७६) देखि बन्द भयो। यै(२०७७) असोजदेखि फेरि शुरु गरेको हुँ । कहिलेकाहीँ त बोहनी पनि हुन्न,त्यसै फर्किनुपर्छ । अहिले दैनिक सरदर २०-३० वटासम्म गइराछ ।” कार्कीले भन्नुभयो । नाचनडाँडामा लाँकुरीको बोटैमुनि उहाँको रोट बनाउने छाप्रो छ । यस अघि धेरै समय चटपटे,पानीपुरी पनि बेच्ने गर्नुहुन्थ्यो कार्कीले । त्यसबेला यस क्षेत्रमा पानीपुरी,चटपटेको चलन ल्याउने पहिलो व्यक्ति नै उहाँ भएकोले धेरैले उहाँलाई” चटपटे बाजे” भनेर चिन्छन। “गरिखाएको त कसले सहन्छ र बाबू,मलाई टहरा भत्काउन र यहाँबाट हट्न धेरैपटक भनेका थिए तर म हटिनँ । उहिले नै हटाउन लागेका थिए,म त अटेर गरि बसेको भएर पो ।” सार्वजनिक जग्गामा छाप्रो बनाएर व्यवसाय गरिरहेका कार्कीलाई सो बारे जिज्ञासा राख्दा भन्नुभयो । यहाँ व्यवसाय गरेर बसेबापत केही भाडा वा शुल्क तिर्नुहुन्छ कि ? भनेर राखेको प्रश्नमा कार्कीले कुनै शुल्क नतिरेको तर आफूले व्यवसाय दर्ता गरेको बताउनुभयो । रोट बनाउने सुविधाले दर्शनार्थीहरुलाई सुविधा हुनुका साथै रम्भादेवीको प्रचार,प्रबर्द्धनमा समेत टेवा पुगेको हुँदा कार्कीजस्ता व्यवसायीहरुलाई विस्थापित गर्नुको सट्टा स्थानीय सरकारले निश्चित मापदण्ड र कार्यविधि बनाएर व्यवस्थित बनाउनुपर्ने अर्का दर्शनार्थी पुर्वखोलाका दिनेश रुचालले बताउनुभयो ।
जय रम्भादेवी । रम्भादेवीले रक्षा गरून् ।


प्रकाशित : २०७७ मंसिर २७ गते १८:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology