“आगामी जनगणनामा सम्पूर्ण मगरहरुले आफ्नोे नामको पछाडी ‘मगर’ र धर्म ‘बौद्ध’ लेखाउनुस”-थर्क बारघरे

अमृत काम्मु मगर
प्रकाशित : २०७७ फागुन २५ गते ५:०७

फागुन २४,वीरकोट

नेपाल मगर संघ रुपन्देहीका सचिव तथा बुटवल उप-महानगर अध्यक्ष थर्क बहादुर बारघरेले आगामी जनगणनामा मगरहरुले आफ्नो नामको पछाडी “मगर” र धर्म “बुद्ध” लेखाउनुपर्ने बताउनुभएको छ ।

आज पाल्पाको पुर्वखोला गाउँपालिका-५,वीरकोटमा नेपाल मगर संघ,वडा समिती,वीरकोटले आयोजना गरेको सहयोगी सम्मान कार्यक्रममा विशिष्ट अतिथीको रुपमा बोल्नुहुँद‌ै उहाँले यस्तो बताउनुभएको हो । राज्यले भनेको १९ लाख मगर जाति र ८४% हिन्दु रहेको तथ्यांक त्रुटिपूर्ण भएको जनाउँदै उहाँले भन्नुभयो-“मगर जाति कुनै भुगोल विशेषमा मात्रै रहेको समुदाय होइन,नेपाल अधिराज्यभर मगरहरुको बसोबास छ,त्यसैले नेपाल मगर संघले ४५ लाख मगरहरु रहेको अनुमान गरेको छ ।”

उहाँले आगामी २०७८ को जनगणनामा तथ्यांक संकलकलाई आफ्नो नामको पछाडी मगर लेखाउन जोड दिनुभएको छ । थर मात्रै लेख्दा केही उस्तै थरहरु गैर मगर जातमा समेत हुने हुँदा मगरहरुको सहि तथ्यांक नआएको उहाँको संकेत थियो । “धर्मनिरपेक्ष राज्यमा जसले जुनसुकै धर्म मानेपनि स्वतन्त्रता छ तर मगरहरुको जातिय धर्म बौद्ध हो” उहाँको भनाई थियो । मगरहरुको संस्कार,संस्कृति बुद्धको जीवनसंग नजिक भएकोले मगरहरु कहिल्यै हिन्दु नभएको उहाँको जिकिर थियोे ।

नेपालको राज्यसत्ता एकलजातिय,हिन्दुवादी भएको उहाँको आरोप छ। “अबको जनगणनामा तपाईंहरु सबैले आफ्नो नामको पछाडी मगर अनिवार्य लेख्नुस,अनि धर्मको ठाउँमा बुद्ध लेखाउनुस,बुद्ध नभए प्राकृतिक वा अन्य लेखाउनुस,कुन भाषा बोल्नुहुन्छ भन्दा मगर भन्नुस,दोस्रो भाषा के हो भन्दा खाम भाषा भन्नुस ।” उहाँले भन्नुभयो ।

जनगणनाको तथ्यांकले देशको योजना निर्माणका साथै समाजका विभिन्न पक्षहरुको विश्लेषण गर्ने आधार तयार गर्ने,मगर समुदायलाई राज्यले हेर्ने दृष्टिकोण बनाउने लगायतका कामहरु हुने हुँदा सहि तथ्यांकका लागि सबै सचेत हुनुपर्ने उहाँको विचार थियो ।

कार्यक्रममा गत वर्ष ३८ अौं मगर दिवसको अवसरमा वडा समितिले आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रममा आर्थिक सहयोग गर्ने ९० जना भन्दा बढीलाई सम्मानपत्र,पाल्पाली करुवा र खादाले सम्मान गरिएको थियोे ।


प्रकाशित : २०७७ फागुन २५ गते ५:०७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology