काँग्रेस क्रियाशील सदस्यता विवाद टुंगियो

Kandara News
प्रकाशित : २०७८ भदौ ७ गते २०:४९

काठमाडौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएको छ । सोमबार क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउन बाँकी समस्या समाधान भएसँगै काँग्रेसमा क्रियाशील सदस्यता विवाद किनारा लागेको हो ।

छानविन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो । तर छानविन समितिले बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुंग्याउने जिम्मा नेतृत्व तहमा पठाएको थियो । 

उक्त विवाद टुङ्ग्याउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको थियो । उच्चस्तरीय समितिमा सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकलाई सहयोगीका रूपमा राखिएका थियो । उक्त उच्चस्तरीय समितिलाई क्रियाशील छानबिन समितिले बुझाएको प्रतिवेदन र विवादित विषयलाई ५ दिनमा टुङ्ग्याउन म्यान्डेट थियो । तर उक्त समितिले सहमति जुटाउन सकेन ।
 
त्यसपछि देउवा र पौडेल र महत बाहेकका नेताहरूलाई क्रियाशील सदस्यता टुङ्ग्याउने जिम्मेवारी दिइएको छ । साउन ३१ बाट छलफलमा जुटेका सिटौला, रिजाल र लेखकले क्रियाशील सदस्यता विवादमा सहमति जुटाएका हुन् । विवाद  समाधान भएसँगै नेतात्रयले क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवा र  वरिष्ठ नेता पौडेललाई बताएको छ । सोमबार साँझ देउवाको  निजी निवास बूढानीलकण्ठमा उनीहरुले  देउवा र पौडेललाई प्रतिवेदन बुझाएका छन् । 


प्रकाशित : २०७८ भदौ ७ गते २०:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology