तीजमा रिमिघामा घुम्न आउनेहरुको भिड,सामाजिक सञ्जालमा चर्चा टिमुरडाँडाको

अमृत काम्मु मगर
प्रकाशित : २०७८ भदौ २५ गते ३:२१

पाल्पा,२४ भाद्र

रम्भा-२,फोक्सिङकोट,झोकेदी

भाद्र २४ गते बिहीबार अर्थात हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका (तीज) को दिन । रातिदेखि आकाश बादलले डम्म ढाकेको थियो । बिहान हुँदासम्म त पानी पर्ला पर्ला भईसक्यो । ८ बज्दा नबज्दै सिमसिमे पानी शुरु भईहाल्यो ।
“ला…..बर्बाद भयो ।” अघिल्लो साँझ रिमिघामा जाने योजना बनाएर भाइहरुसंग छुट्टिएको थिएँ,बिहान त पानी ओईरिन शुरु पो गरिहाल्यो । यस्तो चालले के रिमिघा गईएला र खोइ ! मनमनै गन्थनिएँ एक छिन ।


एकछिनको सिमसिमे पानी पछि त झलमल्लै घाम पो भो त । धन्य भगवान,मेरो मनको पुकार सुनिदिए झैं लाग्यो । त्यसपछि लागियो भाइ साथीहरूलाई फोन घुमाउन । केही समयपछि सबैजनालाई सम्पर्क गरि एकैठाउँमा जम्मा भयौं । त्यसपछि लागियो हाम्रो गन्तव्य-रिमिघा लेकको प्रवेशद्वार तर्फ । बाटोमा केही स्न्याक्सहरु किन्याैं । देउरालीबाट झोकेदीतर्फ लाग्ने बित्तिकै बाटामा पैदल हिड्ने देखि मोटरसाइकल र अटोमा मान्छेका लस्करहरु भेटिए । “आज रिमिघामा मेल‌ै लाग्ने भो ।” अनुमान लगायौं । ५/७ मिनेटको मोटरसाइकल यात्रा पछि आईपुगियो रिमिघाको प्रवेशद्वार टिमुरडाँडा ।

“राम!राम मान्छेका भिड !” पार्किङमा उत्तिकै संख्यामा मोटरसाइकल,बाटोको छेउतिर बस र जीपका लहर । स्टिलको आकर्षक रेलिङ लगाईएको सिंढीमा टिकटक बनाउने र फोटो खिच्नेहरुको घुईँचो । मेलाकै झल्को दिने माहौल देखेर मन प्रफुल्ल भयो ।

घडीले ३ बजाउँदै थियो । मान्छेका हुल त थामिनसक्नु पो भयो । स्थानिय लाङ्घाली प्रगतिशील युवा क्लवका साथीहरूले जेनेरेटर सञ्चालन गरेर म्युजिक सिस्टमको व्यवस्थापन गरिदिनुभयो । त्यसपछि त शुरु भयो धुम धड्का ।
“जेलैमा हो जेलैमा, चरि जेलैमा…मै छोरी रुँदै रुँदै बेशी मेलैमा” सिस्टममा बज्न थाल्यो । तीजका गीतमा झुम्नेहरुको हल्लाले रिमिघा थर्कमान भयो । सांगीतिक माहौल तातिरह्यो ।


“आजको जमघट अचम्मै भयो । स्वस्फूर्त रुपमा यतिका मान्छे जम्मा हुने कुरा हामीले सोँचेकै थिएनौं । “पाल्पा जिल्लाका बगनासकाली,माथागढी,पूर्वखोला,रामपुर,रम्भा लगायतका विभिन्न स्थानहरुबाट समेत आगन्तुकहरु आउनुभएको छ । सबै गरेर आज मात्रै करिब २००० देखि २५०० जनाले यहाँ अवलोकन गर्नुभएको हाम्रो अनुमान छ ।” त्यहीँ भेटिनुभएका लाङ्घाली प्रगतिशील युवा क्लव,झोकेदीका अध्यक्ष नारायण मश्राङ्गीले भन्नुभयो ।

कुराकानीक‌ै सिलसिलामा रम्भा-२,फोक्सिङकोटका वडा सदस्य चेत बहादुर सुनारीसंग पनि भलाकुसारी भयो । यस आ.व.मा सिंढी तथा रेलिङलाई बिस्तार गरेर अझै माथिसम्म पु-याउन लागिएको र सोको लागि प्रदेश सरकार तथा गाउँपालिकाको समपुरक अनुदान योजना मार्फत ५० लाख बजेट व्यवस्थापन हुने सदस्य सुनारीले बताउनुभयो ।

“रिमिघाको मुख्य लेकलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने,त्यहाँसम्मको पदमार्गलाई व्यवस्थित गराउने गरि काम गर्दै जाने हाम्रो योजना हो तर रिमिघामा जाने प्रवेशमार्गको रुपमा २ वटा मार्ग (झोकेदीको टिमुरडाँडा र पिपलडाँडाको गह्रुङ्गा) बाट समानान्तर रुपमा योजना बढाउँदा बजेट व्यवस्थापनमा समस्या परेको छ ।” उहाँले भन्नुभयो । निकट भविष्यमै आगन्तुकहरुको सुविधाका लागि नजिकै खाजा नास्ताको व्यवस्था हुने गरि पसल,होटलहरुको सञ्चालन गरिने सोंच बनाईएको समेत उहाँले बताउनुभयो ।

सहभागीहरुले यो ठाउँ निकै रमाइलो लागेको बताए । भौगोलिक कठिनाईले गर्दा रिमिघाको लेकसम्म जाने सपना अधुरो रहेको गुनासो पोखे । भविष्यमा अझै व्यवस्थित बनाउन सुझाए । घाम डुब्नै लाग्दासम्म टिमुरडाँडामा गीत बजिरह्यो । वृद्ध आमाहरु गीतको तालमा कम्मर भाँच्ने युवा युवतीहरुको नाच हेरेर बसिरहे । साँच्चिकै तीजको मेला लागेझैं देखिन्थ्यो रिमिघा प्रवेशद्वार टिमुरडाँडा ।


प्रकाशित : २०७८ भदौ २५ गते ३:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology