दमकडालाई इन्टरनेशनल स्कुल अवार्ड

Kandara News
प्रकाशित : २०७८ माघ १२ गते १३:२८

पाल्पा । दमकडा माध्यमिक विद्यालय पाल्पाले इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको छ ।

सामुदायिक विद्यालयहरुमा नमूना कार्य प्रदर्शन गर्दै आएको र उत्कृष्ट नतिजा दिने गरेको दमकडा माध्यमिक विद्यालयले ब्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको हो । यो अवार्ड २०२०–०२३ का लागि प्राप्त भएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताउनुभयो । विद्यालयलाई उत्कृष्टस्तरको मान्यता दिन यो अवार्ड दिने गरिन्छ ।

 

सिकाइ उपलब्धी बढाउन र सिकाइलाई समृद्ध बनाउने योजनाले ब्रिटिस काउन्सिलले यो अवार्ड प्रदान गर्दै आएको छ । यो अवार्ड निजी विद्यालयहरुले प्राप्त गरिरहेका भए तापनि पाल्पामा सामुदायिक विद्यालयतर्फ दमकडा माध्यमिक विद्यालयले पहिलो पटक पाएको हो । विद्यार्थी तथा शिक्षकलाई सिकाइमा नयाँ दृष्ट्रिकोण प्रदान गरी विश्वमा काम गर्न सक्ने सीप विकास गराइएको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक तथा कोअर्डिनेटर होत्रीराज ढुंगानाले अवार्ड दिलाउन स्थानीय साझेदार विज्डम बोर्डिङ स्कुल, मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था, माण्डव्य मन्दिर व्यवस्थापन समिति, कृषि सेवा केन्द्र दमकडालाई परियोजना कार्यमा साझेदारी गरेकोमा धन्यवाद दिनुभयो । ब्रिटिस काउन्सिलको यो कार्यक्रम अहिले विश्वका ३१ देशमा लागू छ । विश्वका २ सय ६७ विद्यालयले यो अवार्ड प्राप्त गरिसकेका छन् । याे इन्टरनेशनल स्कुल अवार्ड रुपन्देहीको कालिका माध्यमिक विद्यालय र गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले पनि प्राप्त गरेका छन् ।

के हो इन्टरनेशनल स्कुल अवार्ड ?

यो इन्टरनेशनल स्कुल अवार्डमा सहभागिता जनाउने स्कुलहरूलाई प्रदान गरिने वार्षिक अवार्ड हो । हरेक वर्ष यस अवार्डमा सहभागी हुन इच्छुक स्कुलहरूबाट आवेदन आह्वान गरी प्राप्त आवेदनका आधारमा स्कुल छनौट गरिन्छ । ती स्कुलहरूको अन्तर्राष्ट्रिय कार्यको अभिलेख राख्न एवं मूल्यांकन गर्न र यसलाई उनीहरूको पाठ्यक्रममा समावेश गर्न ब्रिटिश काउन्सिलले इन्टरनेशनल स्कुल अवार्डलाई विद्यालयहरूका लागि एक प्रमाणीकरण ढाँचाका रूपमा प्रस्ताव गर्छ।

इन्टरनेशनल स्कुल अवार्डले एक मापदण्डका रूपमा कार्य गर्छ । यसअन्तर्गत स्कुलहरूले बालबालिकामा विश्व नागरिक भावनाको विकास गराउनुपर्ने तथा शिक्षण र सिकाइलाई समृद्ध बनाउनुपर्ने सर्त राखिएको हुन्छ ।

विद्यालय विकासका लागि इन्टरनेशनल स्कुल अवार्डको पहुँच समग्र रूपमा हुने र पाठ्यक्रममा आधारित प्रोजेक्ट कार्य तरिका अनुकरण गरी विद्यार्थीमाझ यसको प्रयोग गर्न शिक्षकहरूलाई प्रोत्साहित गर्ने ब्रिटिश काउन्सिलको दाबी छ । यसले नेतृत्वलाई समूह निर्माण, नवीन प्रस्तुति र प्रोजेक्ट व्यवस्थापनमा प्रोत्साहित गर्छ । इन्टरनेशनल स्कुल अवार्डमा सामग्री छनौटको स्वतन्त्रता हुने र विद्यालयलाई आफ्नो पाठ्यक्रममै यसलाई सामेल गर्न प्रोत्साहित गरिने काउन्सिलको भनाइ छ।

इन्टरनेशनल स्कुल अवार्डले सूचना तथा सञ्चार प्रविधि र शिक्षण विधिमा सुरक्षित र व्यवस्थित तरिकाले नयाँ सीपको अभ्यास गर्ने अवसर उपलब्ध गराउँछ । ब्रिफिङ, कार्याशाला, अनलाइन समुदाय र अवार्ड समारोहमा हुने सहभागिताले देशभरका स्कुललाई एकसाथ उभ्याउने र यसले विचारहरूको वृहत आदानप्रदानलाई प्रोत्साहित गर्ने काउन्सिलको दाबी छ ।

अवार्ड प्रदान गर्ने स्कुललाई कसरी मूल्यांकन गरिन्छ
ब्रिटिश काउन्सिल, शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरूको एउटा समूह बनाइएको छ । सहभागी स्कुलहरूले पेश गरेका अभिलेख वा प्रमाणका विवरण मूल्यांकन गरिन्छ । अनि कार्यको सत्यता र बालबालिकाहरूमा सिकाइ उपलब्धि हेर्न विद्यालय भ्रमण गरिन्छ । पेश गरिएका प्रमाण र विद्यालय भ्रमणका समयमा देखिएका उपलब्धिहरूको आधारमा ती विद्यालयहरूलाई अवार्ड प्रदान गरिन्छ ।

Sors: bolidainik.com


प्रकाशित : २०७८ माघ १२ गते १३:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology