एमाले पाल्पा प्रचार विभाग सचिवमा ‘विश्वकर्मा’

Kandara News
प्रकाशित : २०७९ साउन १८ गते १८:५०

एमाले पाल्पा प्रचार विभाग सचिवमा ‘विश्वकर्मा’
साउन १८, २०७९
पाल्पा ः नेकपा एमाले पाल्पा प्रचार तथा प्रकाशन विभागको सचिवमा मिलन विश्वकर्मा मनोनित हुनुभएको छ ।
विभागको बुधबार तानसेनमा बसेको पहिलो बैठकले विश्वकर्मालाई सचिवमा मनोनित गर्ने निर्णय गरेको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताउनुभयो । विश्वकर्मा प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज समेत हुनुहुन्छ ।
यस्तै बैठकले आगामी एक वर्षका लागि कार्ययोजना निर्माण गर्न समिति गठन गरेको छ । कमलराज तिमिल्सेना, किरण कौशल, कृष्ण कार्की सदस्य रहनुभएको छ । आगामी बैठकमा कार्ययोजना पेस गर्ने निर्णय भएको छ ।
बैठकमा सहभागी सदस्यले जिल्लामा अहिलेसम्म पत्रकारिता क्षेत्रमा भएका गतिविधिका बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।
बैठकमा प्रमुख अतिथि नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले कार्ययोजना बनाएर जतिसक्दो छिटो प्रचार विभागको कामकारबाही अगाडि बढाउन निर्देशन दिनुभयो । कार्ययोजनाअनुरुप काम सम्पन्न गर्नको लागि पार्टीले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।
साथै यही साउन २८ गते हुन गइरहेको पार्टीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्नेगरी प्रचार प्रचार गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार आगामी भदौ २० गते भित्र जिल्लाका १० वटै स्थानीय तह र ८१ वटा वडामा समेत पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न गरिने छ ।
प्रचार तथा प्रकाशन विभागका पूर्व प्रमुख तथा पार्टीका तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले प्रचार विभागका गतिविधिले पार्टीलाई ठूलो सहयोग मिल्ने बताउनुभयो । विभागका रचनात्मक कामलाई पार्टीले सहयोग गर्नुपर्छ । पार्टीले गरेका राम्रा कामको प्रभावकारी रुपमा प्रचार हुन सके पार्टी बलियो हुने उहाँले बताउनुभयो ।
पार्टी सचिव रामजी पोखरेलको अध्यक्षतामा बसेको बैठकमा पार्टीका लुम्बिनी प्रदेश सदस्य नारायणी शर्मा घिमिरे, जिल्ला उपाध्यक्ष देवीलाल लामिछाने, कार्यालय सचिव दीपक विश्वकर्माको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७९ साउन १८ गते १८:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology