अन्तरघातीले पार्टी छाडेर भागेका हुन् : एमाले पाल्पा
भदौ ६, २०७९
पाल्पा : नेकपा एमाले पाल्पाले अन्तरघातीले पार्टी छाडेर भागेको आरोप लगाएको छ ।
सोमबार एक विज्ञप्तिमार्फत गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन गठबन्धनसंग मिलेर अन्तरघात गरेका केही व्यक्तिहरूले पार्टी छाडेर गएको जनाएको हो ।
पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा तानसेन नगरपालिकामा पार्टीका तर्फबाट पटक पटक लाभको पदमा अवसर लिएका व्यक्तिबाट पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध गठबन्धनका उम्मेदवारहरू लाई सघाउने गरी अन्तरघात जस्तो जघन्य अपराध गर्ने काम भयो । ती व्यक्तिलाई तत्काल कारबाही गर्न पार्टी पंक्तिबाट नेतृत्वलाई दबाब सिर्जना भएको थियो । तरपनि पार्टी नेतृत्वले संयमता अपनाएको कुरा उल्लेख छ ।
“अशोक कुमार शाहीको नेतृत्वमा जारी विज्ञप्तिमा उल्लेखित व्यक्तिहरू मध्ये अधिकांश व्यक्तिहरू उक्त विज्ञप्तिप्रति असहमति जाहेर गर्दै आफूहरू नेकपा एमाले पार्टीमै दृढतापूर्वक उभिएको जानकारी प्राप्त भएको छ । उक्त विज्ञप्तिबाट पार्टी पंक्ति कुनै भ्रममा नपर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछु ।” विज्ञप्तिमा भनिएको छ ।
शाही नेकपा एमालेका तर्फबाट २०५१ सालमा भूमि सुधार आयोग पाल्पा गुल्मी अध्यक्ष भएर लाभको पद लिइसकेका छन् । नेकपा एमालेका तर्फबाट २०५४ र २०७४ सालमा तानसेन नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।
शाही र पाठक एमाले पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाअन्तर्गत पाल्पा जिल्लाका सबै सिटहरूमा नेकपा एमालेको विजयी सुनिश्चित हुनेगरी पार्टी नेतृत्व अगाडि बढिसकेको अवगत गराउँदै सबै पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरूमा उच्च मनोबलका साथ चुनावी अभियानमा लाग्न विज्ञप्तिमार्फत अपिल गरिएको छ ।
प्रकाशित : २०७९ भदौ ६ गते १४:०८
Facebook Comment