नेकपा एमाले पाल्पाले चुनावी घोषणापत्रका लागि सुझाव माग गरेको छ ।

जनक राज भट्टराई
प्रकाशित : २०७९ असोज १२ गते २१:१९

नेकपा एमाले पाल्पाले चुनावी घोषणापत्रका लागि सुझाव माग गरेको छ ।
तानसेनमा बुधबार एक कार्यक्रमको आयोजना गरी सुझाव संकलन गरेको छ । कार्यक्रममा सहभागीहरूले कृषि तथा पर्यटन, शिक्षा स्वास्थ्य कुटिर उद्योग, भौतिक पूर्वाधारका बारेमा रणनीतिक योजना बनाएर घोषणा पत्रमा समावेश गर्न सुझाव दिएका छन् ।

तत्कालिन तथा दीर्घकालिन योजना बनाएर पाल्पाको विकासबारे घोषणा पत्रमा उल्लेख गर्नुपर्ने र नेकपा एमालेले यसको प्रभावकारी कार्यान्वयन गर्न उनीहरूले भनेका थिए । कार्यक्रममा घोषणा पत्रमा समावेश हुन सक्ने योजना तथा कार्यक्रमका बारे एमाले प्रदेश कमिटी सदस्य रामबहादुर राउतले सहजीकरण गर्नु भएको थियो ।

प्रमुुख अतिथि एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पाल्पामा के के कुरामा कसरी विकास गर्न सकिन्छ भन्नेबारे सुझाव दिन आग्रह गर्नुभयो । गैरेको आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर २ बाट सर्वसम्मत एकल उम्मेदवारको रुपमा नाम सिफारिस भएको छ । प्राप्त सुझावलाई घोषणापत्रमा समावेश गरेर पाल्पाका विकासको दस्तावेज तयार हुने र त्यही अनुरुप विकासका लागि पहल गर्ने उहाँले बताउनुभयो । राजनीतिमा फरक आस्था र विचार बोक्ने व्यक्तिले पनि सुझाव दिनसक्ने उहाँले बताउनुभयो । पाल्पाबाट एमालेको जीत भए यहाँको विकास समृद्धिको लागि इमानदार भएर काम गर्ने गैरेले प्रतिवद्धता जनाउनुभयो ।


प्रकाशित : २०७९ असोज १२ गते २१:१९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology