गठबन्धनले मुलुकलाई निकास दिँदैन ः एमाले उम्मेदवार ठाकुर गैरे

Kandara News
प्रकाशित : २०७९ कार्तिक १८ गते २०:२३

गठबन्धनले मुलुकलाई निकास दिँदैन ः एमाले उम्मेदवार ठाकुर गैरे
कात्तिक १८, २०७९
पाल्पा ः नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेले गठबन्धन सरकारले मुलुकमा निकास दिन नसक्ने बताउनुभएको छ ।
मुलुकको विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई विजयी गराउन उहाँले अपिल गर्नुभयो । गैरे पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।
रिब्दीकोट गाउँपालिकाको भैरवस्थान र देउरालीमा भएको चुनावी प्रचारप्रसार कार्यक्रमअन्तर्गत भएको घरदैलो तथा टोल भेलामा उहाँले यस्तो बताउनुभएको हो ।
सत्ता स्वार्थ बाहेक गठबन्धनको मुलुक बनाउने कुनै एजेण्डा नभएकाले राष्ट्रिय हितका लागि काम गर्ने एक मात्र पार्टी नेकपा एमालेलाई जिताउन उहाँले आग्रह गर्नुभयो । सत्ता पक्षको गठबन्धन समृद्धि र विकासको बाधक भएको उहाँले आरोप लगाउनुभयो ।
पाल्पा क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ओमबहादुर घर्तिमगरले यस क्षेत्रको सडक स्तरोन्नति, एक घर एक धाराको कार्यक्रमलाई आफ्नो कार्यकालमा समपन्न गर्ने बताउनुभयो । उहाँले धार्मिक पर्यटनको विकासका लागि रणनीतिक योजना तयार गरेर अगाडि बढ्ने बताउनुभयो । साथै यहाँका युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रमका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै पाल्पा क्षेत्र नम्बर २ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराईले राम्दी मेलामै पुगेर मत माग्नु भएको छ ।
हरिबोधनी एकादशीका दिन कालीगण्डकी किनारमा नुहाउन तथा पुजाआरधना गर्न पुगेका भक्तालुहरूसँग सूर्यमा मतदान गर्न आग्रह गर्नुभयो ।
सोही क्रममा उहाँले आफू निर्वाचित भएर गएपछि रामनदीधामलाई व्यवस्थित गर्ने बताउनुभयो । यहाँदेखि रानीघाट हुँदै रिडीसम्मको क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताउनुभयो । भट्टराइले बगनासकालीको पोखराथोक, नायरनमतलेस र चिदीपानीमा पुगेर मत माग्नुभएको छ ।


प्रकाशित : २०७९ कार्तिक १८ गते २०:२३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology