माडी चक्रपथलाई व्यवसायिक र आर्थिक करिडोरका रुपमा विकास गर्ने – गठबन्धन दल

Kandara News
प्रकाशित : २०७९ कार्तिक २५ गते २०:३३

पाल्पा, कार्तिक २५÷पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले माडी चक्रपथलाई व्यवसायिक र आर्थिक करिडोरका रुपमा विकास गर्ने बताएका छन् । यस अघि प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गरी पाल्पाको विकासमा उल्लेखीय काम गरेका गठबन्धनका उम्मेदवारहरुले शुक्रबार माथागढी गाउँपालिकाको चिदीपानीमा घरदैलो तथा सभामा बोल्दै माडी चक्रपथ आयोजनालाई सम्पन्न गरी व्यवसायिक र आर्थिक करिडोरका रुपमा विकास गर्ने बताएका हुन् ।
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार सोम प्रसाद पाण्डेले आफू सांसद हुँदा तत्कालिन मन्त्रिपरिषद्को अध्यक्षलाई पेश गरेको माडी चक्रपथ आयोजनालाई सम्पन्न गरी त्यस क्षेत्रको जनताको विकासको लागि व्यवसायिक र आर्थिक करिडोरको रुपमा विकास गर्ने बताए । पाण्डेयले तिनाउ खोलाले यस क्षेत्रमा वर्षेनी माडीका जनतालाई पीडित बनाएको भन्दै तिनाउ खोलाको रेखांकन गरी स्थायी टटबन्ध निर्माण गरिने समेत प्रतिवद्धता जनाए । आफू पनि माडीकै बासिन्दा भएकाले माडी क्षेत्रमा जोडिएको मदनपोखरा, चिदीपानी, पोखराथोक, नायर, चिर्तुङ्गधारा, झडेवा, कसेनी, रुप्से लगायतका जनताको समस्या समाधानमा प्रतिवद्ध भएर लाग्ने पाण्डेले बताए । उनले चिदीपानीको बुढीकोट, धैरनी, सातदोवाटो लगायतको क्षेत्रमा घरदैलो गर्दै यहाँको सडकको विस्तार, सिंचाई, खानेपानी, सडकको स्तरउन्नती लगायतको काम गर्ने समेत बताए ।
पाण्डेयले चिदीपानीको माथागढी सहकारीको भवन निर्माणको लागि सांसद विकास कोषबाट सहयोग गरेको, त्यही भवनमा अहिले विद्यालय सञ्चालन भएकाले त्यस विद्यालयको भौतिक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा आफूले काम गर्ने पनि बताए । नेता पाण्डेयले चिदीपानीको शौभाग्य माविलाई प्राविधिक शिक्षाको हवको रुपमा विकास गर्ने समेत प्रतिवद्ध जनाए । पाण्डेले जनताको समस्या समाधानका लागि निर्वाचित भएपछि जनताकै घरमा बास बस्ने समेत बबताए ।
कार्यक्रममा प्रदेश सभा (२) १ का उम्मेदवार वीर बहादुर रानाले पनि माडी चक्र पथलाई व्यवसायिक र आर्थिक रुपमा जोड्ने गरी काम गर्ने बताए । उनले चिदीपानी क्षेत्रका जनतालाई परेको मर्कामा आफू सदैव हातेमालो गर्न तयार रहेको भन्दै माडी ,चिदीपानी क्षेत्रको समग्र आर्थिक र पूर्वाधार विकासमा आफूले काम गर्ने प्रतिवद्धता जनाए । जनताको आर्थिक समृद्धि र विकास गठबन्धन नेतृत्वको सरकारले मात्र गर्ने भन्दै त्यसको लागि वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन सबै मतदाताहरुलाई आग्रह गरे । कार्यक्रममा गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेताहरु राजनप्रसाद पन्त, सन्तोष कुमार थापा, राजेन्द्र गोपाल सिंह, झपेन्द्र गहिरे, शिव प्रसाद घिमिरे, माधव नेपाल लगायतले चिदीपानी र समग्र पाल्पा जिल्लाको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउा आग्रह गरे ।
भैरवस्थानको पर्यटन विकासमा लाग्नेछु ः घर्ती
जिल्लाको रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मसुरेमा गठबन्धनको घरदैलो तथा चुनावी सभा भएको छ । सभामा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तुलाराम घर्ती मगरले यस क्षेत्रको पर्यटन विकास र आयस्तरवृद्धिमा लाग्ने बताएका छन् । रिब्दीकोटको विकास निर्माणमा आफू पहिलो पटक निर्वाचित भएपछि धेरै काम गरेको बताउँदै बाँकी कामहरु सम्पन्न गर्नको लागि पुनः आफूलाई मत दिन उनले आग्रह गरे ।
उनले यस क्षेत्रमा रहेको खानेपानी, यातायात, सिंचाई लगायतको समस्या समाधानमा आफूले काम गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । एक घर एक धारा, सिंचाई सहित गाउँमै स्वरोजगार र आयआर्जन बढाउनको लागि कृषि, पशुपालन लगायतका क्षेत्रमा दीर्घकालिन गुरुयोजना बनाएर काम गर्ने घर्ती मगरले बताए । निवर्तमान सांसद हुँदा प्रदेश सरकारबाट रिब्दीकोटको भैरवस्थान, खस्यौली, देउराली लगायतका विभिन्न वडाहरुमा करोडौंको बजेट विनियोजन गरेको उनले बताए । घर्तीले भने ‘ति योजनाहरु कतिपय सम्पन्न भइसकेका छन्, कतिपय कार्यान्वयनको चरणमा रहेका छन् भने कतिपयलाई पूरा गर्नुपर्ने छ । ति योजना पुरा गर्नकै लागि म फेरी उम्मेदवारी दिएको हुँ ।’ रिब्दीकोटको भैरवस्थान मन्दिर पर्यटकीय क्षेत्रले उत्कृष्ठ गन्त्वय बनाउने भन्दै नेता घर्तीले यहाँका अन्य क्षेत्रमा समेत पर्यापर्यटन विकास र जनताको आयस्तर वृद्धिमा लाग्ने बताए । उनले माओवादीको दशवर्षे जनयुद्ध,२०६२÷६३ को आन्दोलन लगायतका आन्दोलनले देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएकाले अवस्था परिवर्तनका लागि आफूहरुले गठबन्धन गरिएको बताए । कार्यक्रममा गठबन्धनमा आवद्ध दलका नेताहरुले समेत अहिले गठबन्धनमा मत दिन जनतलाई आग्रह गरे । उनीहरुले पहिले एमालेलाई दुईतिहाइ मत दिएपनि जनमत कुल्चेर फालेका कारण अहिलेको गठबन्धन भएको बताए ।


प्रकाशित : २०७९ कार्तिक २५ गते २०:३३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology