निस्दीमा वालविवाहको समस्या , बन्द कोठा भन्दा बाहिर चल्न सकेन अभियान !

धनबहादुर ठाडा
प्रकाशित : २०७९ पुष ११ गते १९:००

निस्दीमा बालविवाहको समस्या

धनबहादुर ठाडा / ११ पुस , २०७९ सोमबार

पाल्पा – पाल्पाको निस्दी गाउँपालिकामा बालविवाहको समस्या बढदै गएको छ । बालविवाह न्यूनीकरणको लागि विभिन्न कार्यक्रम र प्रयास गर्दागर्दै पनि यसको अन्त्य हुन सकेको छैन । नेपालको कानुनले १८ वर्ष मुनिकालाई बालबालिका र विवाह योग्य उमेर २० वर्ष पछि भनेर तोकेको छ । २० वर्ष भित्र गरिने विवाह गैरकानुनी विवाह हो ।

निस्दीमा बालविवाह फेसन जस्तै बन्दै गएको छ । मोबाइल फोनको गलत प्रयोगले गर्दा बालविवाह बढदै गएको देखिन्छ । हिजोआज आधारभूत तहदेखिनै मोबाइलको प्रयोग गरेको भेटिन्छ । बिबाह पनि आठ कक्षादेखि दस कक्षाका विद्यार्थीको बढी मात्रामा भएको पाइन्छ । २० वर्ष अगाडि गरिने बिबाहले थुप्रै समस्याहरु देखिने सम्भावना हुन्छ । विशेषगरी आमा र शिशुको मृत्युदर बढन सक्दछ । विवाह गरेका बालबालिकाले पढाईलाई बीचैमा छोडनुपर्ने हुन सक्दछ । यौन तथा प्रजनन स्वास्थ्यमा असर पर्दछ । बाहु विवाह र सम्बन्ध विच्छेदका घटनाहरु बढन सक्छ । लैंगिक र यौनहिंसा बढने सम्भावना हुन्छ । विवाह गरेका बालबालिकाको समग्र विकासमा बाधा पुग्दछ ।

निस्दी मगर जातिको बाहुल्यता रहेको ग्रामीण क्षेत्र हो । मगर जातिलाई धेरै रमाइलो चाहिन्छ । बाह्रैमास नाच्न गाउन र रमाइलो गर्न पाएपछि पछाडिको लागि खासै चिन्तन गर्दैन । धेरै जसो खाना लाउन र रंग रमाइलोमै बिताउने गरिन्छ । पढनुपर्छ भन्ने सोचाइ कमैको मात्र हुन्छ । सानै उमेरमै एकअर्कालाई प्रेम गर्न थाल्छन र सानै उमेरमा बिबाह गर्छन । अझैसम्म हाम्रो बुढापाकामा बिबाह सकेसम्म छिटो गर्नुपर्ने मान्यता रहेको देखिन्छ । घरजाम छिटो गरे बुढेसकालमा दुख पाउदैन , छोरा नातिले कमाउछन भन्ने विश्वास गर्छन । प्रायः हरेकको परिवारमा छोराछोरीको बिबाहको बारेमा योजना छलफलनै भएको देखिन्न । कुनै पनि अभिभावकले आफ्नो सन्तानलाई बिबाह सम्बन्धि ज्ञान दिएको पाइन्न । छोराछोरी आफुले जहिले मन लाग्छ तहिले भागाउने भाग्ने गर्दछन । मगर समुदायमा अभिभावकले आफ्ना सन्तानलाई स्वतन्त्रता बढी प्रदान गरेको देखिन्छ । एक किसिमले पुरै छाडा छाडिएको हुन्छ । त्यसैले पनि साथीसँगीको संगतमा परेर धेरैले कम उमेरमै विवाह गर्ने गरेको देखिन्छ । निस्दी मगर जातिको बाहुल्यता रहेको क्षेत्र पर्नु र मगर जातिमा घरसल्लाह बिना विवाह हुने चलनचल्ती रहेकोेले पनि यहाँ बालविवाहको समस्या बढदै गएको हो ।

बालविवाह न्यूनीकरणको लागि वर्षेनी लाखौं बजेट खर्च हुन्छ । यहाँको स्थानीय सरकारदेखि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले बेलाबेलामा कार्यक्रमहरु गरेको देखिन्छ । तर समस्या जहाँको त्यहीँ रहेको छ । एउटा बन्दकोठा भित्र गरिने सेमिनार , गोष्ठी , सभा , सम्मेलनले बालविवाहको अन्त्य हुन सक्दैन । यसको न्यूनीकरणको लागि प्रत्येकको घर घरमा पुगेर अभिभावकलाई सचेत गराउन जरुरी छ । यहाँको आमा समुह , युवा क्लब , टोल समुहमा गएर व्यापक बहस गर्नुपर्ने देखिन्छ । हरेक विद्यालयमा नियमित छलफल र भेटघाट बढाउनुपर्ने देखिन्छ । अभिभावकमा जनचेतनाको कमीले आफ्ना सन्तानप्रति पढाइको वास्तै नगर्नले बालविवाहको समस्या बढदै गएको लक्ष्मी माध्यमिक विद्यालय झिरुबासका प्रधानाध्यापक पदम बहादुर थापाले बताउनुभएको छ । पहिलो पाठशाला घर भनेपनि घरमा पढने वातावरण नरहेको बताउनुहुँदै थापाले कक्षा ६ देखि माथिका विद्यार्थीले बिबाह गरेर बीचैमा पढाइ छोडेको बताउनुभएको छ । बालविवाह हुनुमा सामाजिक सञ्जालको गलत प्रयोग मुख्य कारण रहेको गौरीशंकर माध्यमिक विद्यालय मित्यालका प्रधानाध्यापक केश बहादुर सुनारीले बताउनुभएको छ । चालू शैक्षिकसत्रमा मात्रै ७ जनाभन्दा धेरै विद्यार्थीको बिबाह भएको सुनारीले बताउनुभएको छ ।

धेरै जसो विद्यार्थीहरु आफ्नो घर नसुतेर साथीकोमा सुत्न जाने प्रवृत्तिले गर्दा बालविवाहको समस्या देखिन आएको सरस्वती माध्यमिक विद्यालय गल्धाका प्रधानाध्यापक सुशील ढकालले बताउनुभएको छ । पढाइ नसकिदै विवाह गर्ने र बीचैमा पढाइ छोडनुको समस्या आफ्नो विद्यालयमा पनि विगतदेखि नै रहदै आएको ढकालले बताउनुभएको छ । राधाकृष्ण माध्यमिक विद्यालय बाकामलाङका प्रधानाध्यापक भेष बहादुर अधिकारीले बालविवाह हुनुमा मुख्य कारण सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोग नै रहेको बताउनुहुन्छ । यस्तो समस्या आफ्नो विद्यालयमा समेत रहेकोे अधिकारीले बताउनुभएको छ । निस्दीमा यस्तो समस्या प्रत्येक विद्यालयमा भएको देखिन्छ । यहाँको १२ वटा माध्यमिक विद्यालयमा मात्रै नभएर अन्य आधारभूत विद्यालयमा पनि बिबाह गरेर बीचैमा पढाइ छोडने समस्या रहेको पाइन्छ । बिबाह भएपछि छात्रको तुलनामा छात्राले पढाइ छोडने गरेको जनकल्याण आधारभूत विद्यालय मित्यालका प्रधानाध्यापक लोक बहादुर सारुले बताउनुभएको छ । हाम्रो समाजमा अभिभावकले बालबालिकाको पढाइमा कम चासो लिएकोले पनि बालविवाह बढदै गएको सारुले बताउनुभएको छ ।

यता पालिकाले भने निस्दीलाई आगामी ३ वर्षभित्र वालमैत्री स्थानीय शासन लागु भएको पालिका घोषणा गर्ने तयारी गरेको छ । जसमा ५१ वटा सुचकमध्ये शून्य बालविवाह पनि पर्दछ । अहिले पालिका भित्र रहेको विभिन्न विद्यालयमा पुगेर बालविवाह न्यूनीकरण सम्बन्धि विशेष अभियान सञ्चालन भैरहेको बाल अधिकार अधिकृत कुश्माखर पाण्डेले बताउनुभएको छ । निस्दीमा बालविवाह अन्त्यका लागि समस्या र चुनौती दुबै रहेको बताउनुहँदै सबैको सहयोगमा मात्रै यो अभियान सफल हुने पाण्डेले बताउनुभएको छ । बालविवाह कानुनी र सामाजिक अपराध हो । त्यसैले बालविवाहको अन्त्यका लागि हामी सबै सचेत बन्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभएको छ । बालविवाह न्यूनीकरणको लागि पालिकाले सकारात्मक र नौलो अभ्यास शुरु गरेको दयालले जानकारी दिनुभएको छ । पालिकाले १२ कक्षा उतिर्ण गरि २० वर्ष माथि विवाह गर्नेलाई विशेष सम्मान गर्ने योजना बनाएको छ । जसको लागि पालिकाले बजेट विनियोजन गरेको दयालले बताउनुभएको छ ।

निस्दीमा मगर जातिको बाहुल्यता हुनु र कम उमेरमै विवाह गर्ने पुरानै देखिको चलन कायमै छ । अभिभावकहरुमा जनचेतनाको कमिले गर्दा बालविवाहको समस्या रहेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभएको छ । निस्दीको जनप्रतिनिधि , कर्मचारी र सरोकारवाला व्यक्ति बालविवाहको भोजमा सहभागी नहुने निर्णय गरेको अध्यक्ष सारुले बताउनुभएको छ । बालविवाहले दीर्घकालीन असर पर्ने बताउनुहुँदै अध्यक्ष सारुले यसको अन्त्यका लागि हरेक क्षेत्रबाट सकारात्मक सहयोगको खाँचो रहेको बताउनुभएको छ ।


प्रकाशित : २०७९ पुष ११ गते १९:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology