पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई नेपालको आर्थिक विकासका लागि आफ्नो नेटवर्क र रिसर्च प्रयोग गर्न आग्रह

Kandara News
प्रकाशित : २०८२ वैशाख २१ गते २१:१४

काठमाडौं । पूर्व प्रधानमन्त्री एंवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई नेपालको आर्थिक विकासका लागि आफ्नो नेटवर्क र रिसर्च प्रयोग गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित टीमलाई बधाई तथा शुभकामना प्रदान गर्न आइतबार आयोजित एक कार्यक्रममा प्रचण्डले विश्वभरी छरिएर रहेका गैरआवासीय नेपालीहरु नेपालको आर्थिक विकासमा एकजुट हुनुपर्ने बताए ।

अध्यक्ष प्रचण्डाले भने, ‘संविधान निमार्णको चरणदेखि नै आफुले एनआरएनएको हकहितको लागि बोल्दै आएको र आगामी दिनमा पनि एनआरएनएको हितमा रहनेछु ।’ आफु प्रधानमन्त्री रहेको बेला एनआरएन नागरिकता वितरणको सुरुवात गरिएको भएपनि अझै कामकाजीमा आउन नसकेको उल्लेख गर्दै उनले आगामी दिनमा एनआरएन नागरिकतालाई पनि कामकाजीमा ल्याइने बताए ।

नवनिर्वाचित गैरआवासीय नेपाली संघ (एनआरएनए) टीमलाई बधाई तथा शुभकामना प्रदान गर्दै उनले अहिलेको नेतृत्वमा छुटेका साथीहरुलाई नव निर्वाचित टीमले सहभागी गराउने अपेक्षा राखे । ‘निर्वाचन भएमा विवाद हुन्छकी भन्ने थियो । सर्वसम्मत गर्नुभएकोमा धन्यवाद ।’ उनले भने ।

गैर आवसीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनले महेश श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शनिबार काठमाडौंको हायात होटलमा जारी महाधिवेशनको दोस्रो दिन आइतबार निर्वाचन प्रक्रियाबाट श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो ।

निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचनबाट अधिकांश पदमा निर्विरोध नेतृत्व चयन गरिएको हो । समितिको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोज कुमार श्रेष्ठ, विश्वास दीप लिम्बु र बुद्धिसागर सुवेदी निर्विरोध भएका हुन् ।

त्यस्तै महिला उपाध्यक्षमा जुनु गुरुङ र महासचिवमा बाबुराम लामा चयन भएका छन् । महाधिवेशनको उदघाटन परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरेकी थिइन् । एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता घिमिरेले जानकारी दिए


प्रकाशित : २०८२ वैशाख २१ गते २१:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology