वडाका विभिन्न मठमन्दिर र समूहलाई वाद्यवादन सामग्री वितरण

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ जेठ १९ गते १९:३४

 

रामपुर, पाल्पा – जेठ १८
रामपुर नगरपालिका वडा नं. ५ ले वडाभित्र रहेका विभिन्न मठमन्दिर तथा भजन–कीर्तन समूहहरूलाई वाद्यवादन सामग्री प्रदान गरेको छ। धर्म, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आइतबार वडा कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा ती सामग्रीहरू वितरण गरिएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले यस्तो कार्यक्रमले समाजमा सकारात्मक सोच र आध्यात्मिक चेतनाको विकासमा टेवा पुग्ने उल्लेख गर्दै वडाको पहलको प्रशंसा गर्नुभयो। उहाँले “सकारात्मक सोच र सामूहिक प्रयासमार्फत मात्र समाजको समुन्नति सम्भव छ” भन्दै सबैलाई योगदान दिन आग्रह गर्नुभयो।

वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले चालु आर्थिक वर्षमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरी ८ वटा मठमन्दिर तथा समूहलाई १–१ सेट हार्मोनियम, मादल र झ्याली (मजुरा) वितरण गरिएको जानकारी दिनुभयो। उहाँले बाँकी रहेका समूहहरूलाई आगामी वर्षको सुरुआतमा सामग्री प्रदान गर्ने योजना रहेको समेत बताउनुभयो।

सामग्री पाउने समूहमा शिव शक्ति दुर्गा मन्दिर बेझाँड, राधा–दामोदर मन्दिर मटेरी, कोइलीटारी मन्दिर, जेष्ठ नागरिक वाटिका दध्रान, दुर्गा मन्दिर (नहर अफिस), सुन्दरटोल भजन समूह, शिव मन्दिर भम्बक र राम मन्दिर रहेका छन्।

कार्यक्रम वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य युवराज शाहीले प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन वडा कार्यालयका सहायक बासुदेव ढकालले गर्नुभएको थियो।


प्रकाशित : २०८२ जेठ १९ गते १९:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology