रामपुर अस्पताल विकास समितिमा खनाल नियुक्त ।।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ जेठ २१ गते ६:४९

रामपुर, पाल्पा — जेठ १९:
रामपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त युवराज खनाल सोमबार पदस्थापित भएका छन्। लुम्बिनी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयबाट नियुक्त भएका खनालले अस्पताल परिसरमा आयोजित कार्यक्रममा पदभार ग्रहण गरेका हुन्।

पदस्थापन समारोहको अध्यक्षता खनालले स्वयं गरेका थिए भने प्रमुख अतिथिको रूपमा लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ उपस्थित थिए। श्रेष्ठले अस्पतालको भौतिक पूर्वाधारमा सुधार भए पनि सेवा गुणस्तरमा अझ ध्यान दिनुपर्नेमा जोड दिए।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले अस्पतालको समग्र सुधारका लागि समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै नगरपालिका सेवा विस्तार, उपकरण तथा संरचना विकासमा सक्रिय रहेको बताए। इलाका प्रशासन कार्यालयका प्रमुख उदयराज भट्टराईले ल्याब तथा फार्मेसी सेवाको गुणस्तर सुधार गर्न आग्रह गरे।

नवपदस्थापित अध्यक्ष युवराज खनालले पूर्व समितिको प्रयासलाई निरन्तरता दिँदै सरोकारवालासँग सहकार्यमा अस्पतालको सुधारमा दृढताका साथ लाग्ने प्रतिबद्धता जनाए।

समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, रेडक्रस, खेलकुद विकास समिति लगायतका संस्थाका पदाधिकारीहरूले अस्पताल सेवा सुधारका लागि नागरिक सुझाव संकलन गर्दै अगाडि बढ्न सुझाव दिए।

कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमिर काफ्लेले अस्पतालको वर्तमान अवस्था, सेवा प्रवाह र उपलब्धि प्रस्तुत गरे। कार्यक्रमको सञ्चालन नर्सिङ्ग अधिकृत ममता रेग्मीले गरेकी थिइन्।

निवर्तमान अध्यक्ष रामप्रसाद ढकालले आफ्नो कार्यकालका उपलब्धिहरू प्रस्तुत गर्दै अपुरो रहेका कामलाई नयाँ नेतृत्वले पूरा गर्ने विश्वास व्यक्त गरे। खनाललाई खादा ओढाएर स्वागत गर्दै माइन्युट हस्तान्तरण गरिएको थियो।


प्रकाशित : २०८२ जेठ २१ गते ६:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology