पूर्वखोला, पाल्पा जेठ -२२
पूर्वखोला गाउँपालिका वडा नं. १ स्थित पाङजुङ बस्ती, सिलुवा चुलीडाँडामा जुनेटिक (Zoonotic) रोगसम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट पशु विकास शाखाले आयोजना गरेको उक्त तालिम मिति २०८२ जेष्ठ २२ गते (बिहीबार) सम्पन्न भएको हो।
तालिम वडा अध्यक्ष श्री गिरीमान आलेज्यूको अध्यक्षता तथा पशु विकास प्रमुख श्री धन बहादुर दर्लामी र वडा पशु सेवा प्राविधिक श्री हरि प्रसाद उपाध्याय सिग्देलको प्रशिक्षणमा सञ्चालन गरिएको थियो।
एक स्वास्थ्य अवधारणा (One Health Concept) अन्तर्गत सञ्चालित कार्यक्रममा जुनेटिक रोगको पहिचान, जोखिम न्यूनीकरण, रोकथामका उपाय लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
तालिममा पाङजुङ बस्तीका स्थानियवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले पशुजन्य रोगहरूप्रति सचेतना र सतर्कता आवश्यक रहेको भन्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
पशुजन्य रोगहरू मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पार्न सक्ने भएकाले यस्ता अभिमुखीकरण तालिमहरूले समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।


प्रकाशित : २०८२ जेठ २३ गते २०:२७
Facebook Comment