देविनगर, पाल्पा — जेष्ठ २४, २०८२
गरिबी निवारण तथा स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्ने उद्देश्यले पूर्वखोला गाउँपालिकाले आयोजना गरेको ५ दिने सरफसाबुन बनाउने सिप विकास तालिम कार्यक्रम संचालनमा आएको छ।
पूर्वखोला गाउँपालिका–४, देविनगरमा सुरु भएको यो तालिम गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत २०८२ साल जेष्ठ २४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिनेछ। तालिममा स्थानीय महिलाहरू तथा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।
तालिमको उद्घाटन सत्रमा पूर्वखोला गाउँपालिकाकी उपाध्यक्ष श्रीमती भागिरथी भट्टराई विशेष अतिथि रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले उद्घाटन मन्तव्य दिंदै यस्तो सिप विकास कार्यक्रमले महिला तथा युवाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने कुरामा जोड दिनुभयो। साथै, पालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तालिम अवधिभर सहभागीहरूलाई सरफसाबुन बनाउने प्रक्रिया, गुणस्तर मापदण्ड, प्याकेजिङ, बजारीकरण, र लघु उद्यम सञ्चालन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिनेछ।
पूर्वखोला गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधारको समग्र विकासलाई प्राथमिकतामा राख्दै यस्तो कार्यक्रमलाई स्थानीय विकासको आधारका रूपमा अघि बढाउँदै आएको छ।



प्रकाशित : २०८२ जेठ २६ गते १७:५०
Facebook Comment