“रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चा नै भएको प्रमाणित भएको छ” ‘तर त्यो कुन प्रकृतिको हो, साथै त्यसको मेडिसनल भेल्यु कति छ भन्ने यकिन भएको छैन ।’

www.kandaranews.com
प्रकाशित : २०८२ जेठ २८ गते ९:२२

 


पाल्पा, जेठ २८कन्दरा न्युज

पाल्पा जिल्लाको रम्भा गाउँपालिका–३ पीपलडाँडा र वडा नं २ फोक्सिङ्कोटस्थित रिमिघा लेक क्षेत्रको सामुदायिक वनमा यार्चागुम्बा प्रमाणित रूपमा फेला परेको छ। विधि विज्ञान प्रयोगशालाबाट आएको परीक्षण प्रतिवेदनले सो जडीबुटी यार्चा नै भएको पुष्टि गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकाय सतर्क बनेका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सामुदायिक वन क्षेत्रमा सुन्तलाका बिरुवा रोप्ने तयारीमा खाल्डो खन्दै गर्दा यार्चागुम्बा जस्तो देखिने जडीबुटी फेला परेको थियो। परीक्षणको नतिजाले पुष्टि गरेपछि जिल्ला प्रशासनले सुरक्षा सतर्कता बढाउँदै रिमिघा क्षेत्रमा सर्वसाधारणको प्रवेश आगामी जेठ २९ गतेसम्म निषेध गरेको छ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार, “रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चा नै भएको प्रमाणित भइसकेको छ। तर, यो कुन प्रजातिको हो र यसको औषधीय मूल्य (मेडिसिनल भ्यालु) कति छ भन्ने कुरा अझै अनुसन्धानको विषय हो।”

यस सन्दर्भमा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो जसमा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, प्रशासकीय अधिकृत पोष्टराज न्यौपाने तथा डिभिजन वन प्रमुख नारायणदेव भट्टराईको उपस्थिति रहेको थियो।

डिभिजन वन कार्यालयका अनुसार अब उक्त क्षेत्रको सुरक्षा कडा पारिएको छ र जडीबुटीको संकलन, बिक्री तथा वितरण कार्य कानुनी प्रक्रिया पूरा गरेर मात्र अघि बढाइने छ। “अहिलेको लागि जंगल क्षेत्रलाई अस्थायी रूपमा सिल गरिनेछ,” डिभिजन वन प्रमुख भट्टराईले बताए। “पछिल्लो चरणमा विधिपूर्वक संकलन, रोयल्टी संकलन र स्थानीय आम्दानीको अवसर सिर्जना गरिनेछ।”

डिभिजन वन कार्यालयले चेतावनी दिएको छ कि सार्वजनिक सूचनाविपरीत वन क्षेत्रमा प्रवेश गरेमा प्रचलित कानुन अनुसार कडा कारबाही हुने छ।



प्रकाशित : २०८२ जेठ २८ गते ९:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology