पूर्वखोलामा नीति, कार्यक्रम तथा बजेट सुझाव संकलन कार्यक्रम सम्पन्न

www.kandaranews.com
प्रकाशित : २०८२ जेठ २९ गते १५:३९

 


पूर्वखोला (पाल्पा), जेठ २८ – पूर्वखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट निर्माणको पूर्वतयारीस्वरूप सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबारका दिन गाउँपालिकाको सभा हलमा सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापाले गर्नुभएको थियो। उहाँले स्थानीय विकासलाई प्रभावकारी बनाउने उद्देश्यले नागरिकको आवाज र सुझावलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सुझाव संकलन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडाध्यक्षहरू, कार्यालयका शाखा प्रमुखहरू, महिला समूह, किसान, युवा प्रतिनिधि, शिक्षक, व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, रोजगारी, पर्यटन, विपद् व्यवस्थापनजस्ता विविध क्षेत्रका विषयमा आफ्ना दृष्टिकोण तथा सुझावहरू प्रस्तुत गरेका थिए।

अध्यक्ष थापाले आगामी बजेट जनताको आवश्यकता र सुझावको समायोजनसहित ल्याइने जानकारी दिनुभयो। “नीति तथा कार्यक्रम जनताको चाहनाअनुरूप बनाउँदा मात्रै विकासले गति लिन्छ,” उहाँले भन्नुभयो।

गाउँपालिकाले नीति निर्माण प्रक्रियामा स्थानीय सहभागिता र पारदर्शिता अभिवृद्धि गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



प्रकाशित : २०८२ जेठ २९ गते १५:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology