पूर्वखोलामा द्रुत प्रतिकार्य समिति तथा टोली सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

www.kandaranews.com
प्रकाशित : २०८२ जेठ ३० गते १४:३४

 


पूर्वखोला (पाल्पा), २०८२ जेठ २९

पूर्वखोला गाउँपालिकाको सभाहलमा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति तथा द्रुत प्रतिकार्य टोली सम्बन्धी एक दिने पैरवी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापाले गर्नुभएको थियो।

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा स्थानीय तहको सक्रिय भूमिका सशक्त बनाउन उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्री मोहन ढकाल, वडा नं. ३ का अध्यक्ष श्री कृष्ण भट्टराई, तथा रिङ्गनेरह स्वास्थ्य संस्था प्रमुख श्री श्रीराज आचार्यको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरू, स्वास्थ्यकर्मी, महिला तथा बालबालिका समन्वयकर्ताहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय संघसंस्था, सामुदायिक स्वयंसेवकहरूलगायत सरोकारवालाहरूको पनि सक्रिय सहभागिता थियो।

कार्यक्रममा द्रुत प्रतिकार्य समितिको संरचना, जिम्मेवारी, कार्यविधि, विपद् पूर्वतयारीका उपायहरू, तथा आपतकालीन अवस्थाका बेला हुने समन्वयबद्ध प्रतिक्रिया प्रणालीका विषयमा विषय विज्ञहरूले प्रस्तुति दिएका थिए। सहभागीहरूले विपद् व्यवस्थापनसँग सम्बन्धित आफ्नो अनुभव, सुझाव र चुनौतीहरू खुलस्त राख्दै सुधारात्मक उपायहरूमा छलफल गरेका थिए।

सभापति थापाले द्रुत प्रतिकार्य समिति तथा टोलीहरूको भूमिकालाई व्यवहारिक रूपमा प्रभावकारी बनाउन यस्ता कार्यक्रमले मार्गदर्शन गर्ने बताए। विपद् व्यवस्थापन स्थानीय तहको प्राथमिकता बन्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले यस्ता पैरवी तथा अन्तरक्रियात्मक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने र प्राप्त सुझावहरूलाई पालिकाको नीति तथा कार्ययोजनामा समावेश गर्नुपर्नेमा जोड दिएका थिए।



प्रकाशित : २०८२ जेठ ३० गते १४:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology