जेठ ३०, रामपुर, पाल्पा – रमा भण्डारी
रामपुर नगरपालिकाको आयोजनामा बालमैत्री स्थानीय शासन अवलम्बन कार्यक्रम अन्तर्गत नगर बाल भेला तथा नगर बाल सञ्जाल गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख रमण बहादुर थापाले बालबालिकाको हकहित, सुरक्षा र अधिकारको संरक्षण गर्न नगरपालिकाले निरन्तर पहल गरिरहेको बताउनुभयो। उहाँले विशेष रूपमा विपन्न, अशक्त, दृष्टिविहीन र आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।
नगर उपप्रमुख बालकुमारी थापाले स्वागत मन्तव्य दिंदै “आजका बालबालिका नै भोलिको भविष्य हुन्” भन्दै बाल अधिकारमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष दिवाकर देवकोटा, रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल लगायतले बालबालिका सम्बन्धी धारणा प्रस्तुत गर्नुभयो।
कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले गर्नुभएको थियो। भेलाबाट शारदा प्रसाद श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नगर बाल सञ्जाल गठन गरिएको छ। जसमा उपाध्यक्ष बिपना नेपाली र अंकित खनाल, सचिव सिम्रन केसी र कृष्ण गौतम, सहसचिव अञ्जली आचार्य, कोषाध्यक्ष मुना अस्लामी लगायत अन्य सदस्य चयन भएका छन्।
कार्यक्रममा नगरपालिकाको आपतकालीन बाल उद्दार कोष मार्फत ६ जना बालबालिकालाई जनही ७ हजार नगद सहयोग र दृष्टिविहीन विद्यार्थी बिपना खनाललाई एउटा ल्यापटप प्रदान गरिएको छ। साथै, प्रत्येक वडाका बाल सञ्जाल कार्यसमितिलाई डायरी र कलम वितरण गरिएको छ।
कार्यक्रममा नगरभित्रका सबै १० वटै वडाबाट बालबालिकाको उत्साहजनक सहभागिता थियो। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख रामबहादुर नेपालीले लागुऔषध, दुर्व्यसन र ट्राफिक नियमबारे बालबालिकालाई सचेतना प्रदान गर्नुभयो। उहाँले मादक पदार्थ सेवनले शारीरिक तथा मानसिक असर पार्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो।
प्रकाशित : २०८२ जेठ ३१ गते १९:४८
Facebook Comment