✍ रमा भण्डारी, रामपुर (पाल्पा), जेठ ३०
रामपुर नगरपालिका–७ ले फरक क्षमता भएका (अपाङ्गता भएका) नागरिकहरूलाई घरमै पुगेर ह्वीलचियर वितरण गरेको छ। वडा कार्यालयको वार्षिक बजेट तथा जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) को सहयोगमा ११ जना नागरिकलाई ह्वीलचियर प्रदान गरिएको हो।
वडाका अनुसार यसअघि ९ जनालाई ह्वीलचियर प्रदान गरिसकिएको थियो भने बिहीबार थप २ जनालाई घरमै पुगेर वितरण गरिएको हो। कार्यक्रम वडा नं. ७ का अध्यक्ष दोबराज तिवारी तथा ओकेबाजेको संयुुक्त पहलमा सम्पन्न गरिएको थियो।
वडा अध्यक्ष तिवारीले लक्षित समुदायमा पर्ने शारीरिक अशक्तता भएका नागरिकहरूको आवश्यकताको पहिचान गरी वडाको बजेट र निजी सहयोगबाट ह्वीलचियर वितरण गरिएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “अपाङ्गता भएका नागरिकको दैनिकी सहज बनाउने उद्देश्यले वडाले सहयोग गरेको हो।”
सहयोगी ओकेबाजे काजुमासा काकिमीले पनि शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूको दैनिकीमा सहजता ल्याउन सहयोग गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “आफ्नो क्षमता अनुसार समाजका जरुरतमन्द व्यक्तिहरूसँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ।”
ह्वीलचियर वितरण कार्यक्रमका लागि वडाले ५० हजार रुपैयाँ, र काजुमासा काकिमीले झण्डै ८५ हजार रुपैयाँ बराबरको सहयोग गरेका थिए। कुल लागत लगभग १ लाख ३५ हजार रुपैयाँ पुगेको वडा कार्यालयले जनाएको छ।
ह्वीलचियर प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिहरूले सहजता महशुस गर्दै खुशी व्यक्त गरेका छन्।
प्रकाशित : २०८२ जेठ ३१ गते १९:५४
Facebook Comment