रामपुर, पाल्पा – जेठ ३१ (रमा भण्डारी)
जलबायु उत्थानशिल समुदाय निर्माण र पारिस्थितिकीय प्रणाली स्थापनाको उद्देश्यले सञ्चालन गरिएको कृषक पाठशाला शनिबार सम्पन्न भएको छ।
राम्चे सामुदायिक वन व्यवस्थापन समितिको अध्यक्ष विष्णु प्रसाद बस्यालको अध्यक्षता र सामुदायिक वन उपभोक्ता महासंघ, पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो।
मुख्य अतिथि श्रेष्ठले वन संरक्षण, दीगो व्यवस्थापन र जलवायु परिवर्तनसँगको सम्बन्धबारे चर्चा गर्दै भन्नुभयो, “वन हाम्रो जीवनको आधार हो, यसको संरक्षण बिना जलवायु संकट समाधान सम्भव छैन। व्यवहारिक अभ्यासले मात्र परिवर्तन सम्भव हुन्छ।”
प्रशिक्षक बिन्दु श्रेष्ठले कृषक पाठशालाबाट सिकाइएका अभ्यासहरूको महत्वलाई जोड दिँदै भन्नुभयो, “यी अभ्यासहरू जीवनशैलीमा अपनाउन सके जलवायु परिवर्तनको असर न्यून गर्न सकिन्छ।” उहाँले कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने व्यावहारिक ज्ञान दिएको उल्लेख गर्नुभयो।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाकी उपाध्यक्ष वन्दना पोखरेल, सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगर सदस्य इश्वरी खनाललगायतले पनि आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष खड्ग प्रसाद श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन उपसचिव जितबहादुर थापाले गर्नुभएको थियो।
१८ हप्तासम्म सञ्चालनमा रहेको पाठशाला बैशाख ७ गते सुरु भई जेठ ३१ गते सम्पन्न भएको हो। कार्यक्रममा २० जना कृषकहरूको सहभागिता रहेको थियो। अन्तिम दिन सहभागीहरूले सिकाइ अनुभवहरू प्रस्तुत गरेका थिए।
कार्यक्रम गण्डकी जलधार जलबायु उत्थानशिल आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ, पाल्पाको आयोजनामा सम्पन्न भएको हो।
प्रकाशित : २०८२ असार १ गते ११:३१
Facebook Comment