पाल्पामा बोलेरो दुर्घटना : दुईको मृत्यु, एक गम्भीर

www.kandaranews.com
प्रकाशित : २०८२ असार २ गते २२:२८

 

पाल्पा — पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका–५ वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडक खण्डमा सोमबार दिउँसो बोलेरो पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

मिति २०८२ असार २ गते, करिब ४:१० बजे आर्यभञ्ज्याङबाट रामपुरतर्फ अण्डा बोकेर गइरहेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप गाडी सडकबाट करिब ३०० मिटर तल खसेको हो। दुर्घटनापछि तत्काल इलाका प्रहरी कार्यालय पूर्वखोला र प्रहरी चौकी ताँहुबाट उद्धार टोली खटिएको थियो।

दुर्घटनामा गम्भीर घाइते तीन जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृतकहरूमा सवारीधनी ४६ वर्षीय विनोद ढुङ्गाना, स्थायी घर पाल्पाको बगनासकाली गाउँपालिका–१ गाप्टुङ, हाल बुटवल उपमहानगरपालिका–११, मझुवा रहेका, र नाम वतन नखुलेका ४०–४५ वर्षका एक पुरुष रहेका छन्। ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज, प्रभास र अर्का पुरुषको मिशन अस्पताल, पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो।

गाडी चालक ३० वर्षीय राजु खड्का, बुटवल उपमहानगरपालिका–११ निवासी, गम्भीर घाइते छन् र उनको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको छ।


प्रकाशित : २०८२ असार २ गते २२:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology