पाल्पा, रामपुर , असार ३ —
पाल्पाको रामपुरस्थित इलाका प्रहरी कार्यालयले हिरासत कक्षमा पुस्तकालय स्थापना गरी समाजमा सकारात्मक सोच फैलाउने उद्देश्यले उदाहरणीय पहल थालेको छ।
मंगलबार एक समारोहबीच कालीगण्डकी फाउन्डेसन नेपालको सहयोगमा प्रहरी हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको हो। फाउन्डेसनले हिरासतमै रहेका व्यक्तिहरूको मानसिक स्वास्थ्य, आत्मचिन्तन र सुधारको बाटो पहिल्याउने उद्देश्यले १५० बढी पुस्तकहरू हस्तान्तरण गरेको हो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख निरीक्षक रामबहादुर नेपालीको अध्यक्षता रहेको थियो भने कालीगण्डकी फाउन्डेसन नेपालका सल्लाहकार सन्दीप राना प्रमुख अतिथि रहनुभएको थियो।
मुख्य अतिथि रानाले पुस्तक हस्तान्तरण गर्दै भन्नुभयो, “हिरासतमा रहेका व्यक्तिहरूलाई सजाय मात्र होइन, सकारात्मक सोच र जीवन बदल्ने ज्ञान आवश्यक छ। प्रहरी मात्र होइन, हामी सबैले सुधारमा सहयोग गर्नुपर्छ।”
रामपुर-४ का वडाध्यक्ष रामबहादुर रानाले पुस्तक अध्ययनबाट समाज रूपान्तरणमा सहयोग पुग्ने उल्लेख गर्नुभयो। फाउन्डेसनका अध्यक्ष नीलकण्ठ भण्डारीले हिरासतमा निराश बनेका व्यक्तिहरूलाई आशा र नयाँ सोच दिने उद्देश्यले पुस्तकहरू प्रदान गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा समाजसेवी दुर्गादेवी राना, रामतुलसी माविका व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठ र शहीद बहुमुखी क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले लगायतको उपस्थिति थियो। उनीहरूले पुस्तकालयको प्रयोगबाट मानसिक रुपान्तरणमा ठुलो टेवा पुग्ने विचार राखे।
कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठले गर्नुभएको थियो।
यस पुस्तकालयबाट हिरासतमा परेका व्यक्तिहरूले पुस्तक पढ्ने बानी बसाल्ने र आफूमाथि पुनः सोच्ने अवसर पाउने विश्वास गरिएको छ।
✍️ सम्बाददाता: कन्दरा न्युज , रमा भण्डारी , रामपुर,पाल्पा
प्रकाशित : २०८२ असार ३ गते १९:५४
Facebook Comment