रामपुर (पाल्पा), असार ४
रामपुर नगरपालिकामा सञ्चालित खादा बनाउने सीपमूलक तालिम मंगलबार सम्पन्न भएको छ। उपप्रमुख ग्रामिण महिला उत्थान कार्यक्रमअन्तर्गत आयोजित उक्त तालिममा २२ जना ग्रामिण महिला सहभागी भएका थिए।
जेठ १६ गतेदेखि सुरु भएको तालिममा महिलाहरूले उनिको धागोबाट मिसिन प्रयोग गरी खादा बुनेर तयार गर्ने सीप सिकेका थिए। तालिमको उद्देश्य महिलालाई आत्मनिर्भर बनाउँदै रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्नु रहेको नगरपालिकाले जनाएको छ।
तालिमको समापन कार्यक्रम नगरपालिकाको हलमा आयोजना गरिएको थियो। कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षता तथा नगरप्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो।
प्रमुख अतिथि थापाले तालिमलाई व्यवहारमा उतार्न आग्रह गर्दै भने, “हामीले तालिम धेरै दिएका छौँ तर परिणाम कम देखिन्छ। एक जनाले दुईवटा तालिम लिनुभन्दा एउटा तालिममा दक्ष हुन जरुरी छ।” उनले ‘काम गर्छु’ भन्ने सहभागिहरूलाई ५० प्रतिशत अनुदानमा सहयोग गर्न नगरपालिका तयार रहेको पनि बताए।
कार्यक्रममा उपप्रमुख थापाले महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिँदै भनिन्, “सानो सामान किन्न पनि श्रीमानको हात ताक्नु पर्ने अवस्था हट्नुपर्छ। महिलाहरूले पनि आम्दानी गर्न सक्छन् भन्ने उदाहरण बन्नु आवश्यक छ।”
तालिमको सुरुवात वडा नम्बर १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता कपिल बहादुर खाँणको स्वागत मन्तव्यबाट भएको थियो।
तालिम प्रशिक्षक बन्दना रानाले तालिम तीन महिनासम्म चलेको भए पनि अझ १५ दिन थपिएको भए सहभागीहरूले अन्य सामग्री बनाउन सक्ने बताइन्। उनले खादा बाहेक स्वेटर, टप्स, गलबन्धी, प्लाजो लगायतका सामग्री पनि उनिको धागोबाट तयार गर्न सकिने जानकारी दिइन्।
सहभागी महिलाहरू फुलमाया परियार र माया श्रेष्ठले तालिमलाई उपयोगी र प्रेरणादायक भएको जनाउँदै तालिमपछिको समयलाई व्यवसायिकरूपमा अघि बढाउने प्रतिबद्धता जनाए।
कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले गर्नुभएको थियो। तालिममा रामपुर नगरपालिकाका १ देखि १० नम्बर वडासम्मका महिलाको सहभागिता रहेको थियो।
प्रकाशित : २०८२ असार ४ गते १९:१३
Facebook Comment