पाल्पा — पाल्पाली सेवासमाज दोहा–कतारले पूर्वखोला गाउँपालिका–३ रिङ्गनेरह निवासी क्यान्सर पीडित ज्योति लाल खनाललाई रु ४०,०२५ (चालीस हजार पच्चीस रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेको छ।
खनाल केही महिना अघिदेखि घाँटीको क्यान्सर तथा प्यारालाइसिस जस्ता गम्भीर रोगबाट पीडित छन्। कमजोर आर्थिक अवस्था भएका कारण उनले देश तथा विदेशमा रहेका नेपाली समुदायमा सहयोगको अपिल गरेका थिए।
उक्त सहयोग समाजका वरिष्ठ उपाध्यक्ष विकास गैरेले अस्पतालमै पुगी हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण गर्दै उनले खनाललाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। “मनोबल उच्च राख्नुस्, तपाईं छिट्टै निको हुनुहुनेछ,” उनले भने।
पाल्पाली सेवासमाजका अध्यक्ष विश्वनाथ भट्टराईले यस्ता प्राणघातक रोगसँग संघर्ष गरिरहेका बिरामीलाई सहयोग गर्न पाउँदा आफू सन्तुष्ट भएको बताए। उनका अनुसार समाजले यसअघि पनि विभिन्न दीर्घरोगीलाई निरन्तर सहयोग गर्दै आएको छ।
पीडित खनालले सहयोग प्रदान गर्ने सम्पूर्ण दाताहरूप्रति आभार प्रकट गरेका छन्।
प्रकाशित : २०८२ असार ५ गते १६:५६
Facebook Comment