‘सकारात्मक सोच र खुसी एक कला’ कार्यक्रम रामपुरमा सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ असार ८ गते १०:२१

 


रामपुर, असार ७ – पाल्पा ।
रामपुर नगरपालिका–४ पाल्पामा शनिबार ‘सकारात्मक सोच र खुसी एक कला’ शीर्षकको प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विशेष गरी विद्यार्थी, शिक्षक र अभिभावकलाई लक्षित गर्दै आयोजना गरिएको थियो।

मानव सेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारी प्रमुख वक्ताको रूपमा सहभागी हुँदै सकारात्मक सोच र खुशीलाई जीवनको अमूल्य कला भने। उहाँले भने, “सकारात्मक सोच भनेको कठिन परिस्थितिमा पनि आशा नहार्ने शक्ति हो। जीवनमा समस्या, बाधा र चुनौती आइरहन्छन्, तर सकारात्मक दृष्टिकोणले ती सबै पार गर्न सकिन्छ।”

अधिकारिले खुशी प्राप्त गर्नका लागि आन्तरिक सोच र दृष्टिकोणको परिवर्तन अनिवार्य रहेको उल्लेख गर्दै सपना देख्ने, उद्देश्य बनाउने र समयमै काम थाल्ने महत्वमा जोड दिनुभयो। उहाँले हरेक कामलाई माया गरेर कर्तव्य बोधका साथ अघि बढ्दा मात्र साँचो सफलता हासिल गर्न सकिने बताउनुभयो।

कार्यक्रममा रामपुर नगर उप–प्रमुख बालकुमारी थापाले सकारात्मक सोचले जीवनलाई सफल र सन्तुलित बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो। नगर प्रवक्ता कपिलबहादुर खाँणले सोच परिवर्तन गर्न सके मात्र स्वभाव र व्यवहार परिवर्तन सम्भव हुने बताउनुभयो।

शिक्षा अधिकृत विकल काफ्लेले यस्ता कार्यक्रमले बालबालिकामा उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो। दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले यस्ता कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासमा सकारात्मक असर पार्ने बताउनुभयो।

रामपुर–४ का वडा अध्यक्ष रामबहादुर रानाले विद्यार्थी, शिक्षक र अभिभावकको सहकार्यबाट समाजमा सकारात्मक सोचको संस्कार स्थापित गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

‘नमस्ते पाल्पा होटल’को सभाहलमा बिहान र दिउँसो गरी दुई सत्रमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष रानाको अध्यक्षता रहेको थियो। स्वागत मन्तव्य कार्यपालिका सदस्य सिमादेवी थापाले राख्नुभएको थियो भने धन्यवाद ज्ञापन वडा सदस्य मोहम्मद अजिम शेख र सञ्चालन वडा सदस्य मोहन सिंह रानाले गर्नुभएको थियो।

कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो।

— कन्दरा न्यूज संवाददाता


 


प्रकाशित : २०८२ असार ८ गते १०:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology