असार ८, रामपुर, पाल्पा – रमा भण्डारी
रामपुर नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आयोजित नगरसभाको अधिवेशनमार्फत ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बराबरको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो।
नगरसभामा आर्थिक तथा विनियोजन विधेयक प्रस्तुत गर्दै उपप्रमुख बालकुमारी थापाले समावेशी र समतामूलक विकासलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्नुभएको थियो। उहाँले नगरका १० वटै वडामा समानरुपमा ६०/६० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो।
बजेटमा कृषि, उद्योग, पर्यटन, पूर्वाधार, सामाजिक विकास र रोजगारी सृजनामा विशेष प्राथमिकता दिइएको छ। रामपुर नगरपालिकाले यस वर्ष “कृषि उत्पादकत्व वृद्धिः गरौं रामपुरको समृद्धि” भन्ने नाराका साथ नीति तथा कार्यक्रम अघि सारेको छ।
नगर प्रमुख रमण बहादुर थापाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरको समृद्धि र सुशासन सुनिश्चित गर्न दीर्घकालीन योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। रोजगारी सृजनाका लागि “दिगो रोजगारी र उद्यमशीलता प्रवर्द्धन” अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ।
सभामा लेखा समितिका संयोजक तेज बहादुर राना, अनुगमन तथा सुशासन समितिका संयोजक मोहनसिंह राना तथा न्यायिक समितिका सदस्य खेमराज अधिकारीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो।
साथै, वडा अध्यक्षहरू दामोदर पाठक (वडा नं. ३) र दुर्गा प्रसाद पोखरेल (वडा नं. ५) ले शुभकामना मन्तव्य राख्नुभयो भने सभाका सदस्य तोयानाथ सारु, हरिनाथ ढुङ्गाना, दिवाकर देवकोटा, दिनेश आचार्य र कपिल बहादुर खाँणले सुझावसहित आफ्नो धारणा व्यक्त गर्नुभयो।
सभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले गर्नुभएको थियो भने नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणको स्वागत मन्तव्यबाट सभा प्रारम्भ भएको थियो।
नगरसभाको अवसरमा रामपुर नगरपालिकाले उत्कृष्ट कर्मचारी, करदाता, टोल विकास संस्था तथा पत्रकारिता क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरेको छ।
सम्मानित व्यक्तिमा नेपाल पत्रकार महासंघ पाल्पाका सह–सचिव दुर्गेस मल्ल, केन्द्रीय परिषद सदस्य सिता डोटेल र सामुदायिक रेडियो रामपुरकी पत्रकार देवी अर्याल भण्डारी रहेका छन्। उनीहरूलाई सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको हो।

प्रकाशित : २०८२ असार ८ गते २१:५९
Facebook Comment