रामतुलसी मा.वि.मा होटल म्यानेजमेन्ट पढाइ सञ्चालन हुने

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ असार ८ गते २२:०२

असार ८, रामपुर (रमा भण्डारी)
पाल्पाको राम तुलसी नमुना माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि होटल म्यानेजमेन्ट विषयको दुईवर्षे कार्यक्रम सञ्चालन गर्ने भएको छ। विद्यालयले सरकारी क्षेत्रमा पाल्पामै पहिलोपटक यस्तो व्यावसायिक पाठ्यक्रम सुरु गर्न लागेको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठका अनुसार, कार्यक्रम सञ्चालनका लागि करिब ३० लाख रुपैयाँको लगानी हुने अनुमान गरिएको छ। सुरुमा करिब ३० देखि ४० जना विद्यार्थी भर्ना हुने अपेक्षा गरिएको उनले जानकारी दिए।

श्रेष्ठले बताएअनुसार, कालीगण्डकी क्षेत्रभित्र हालसम्म यस्तो विषय उपलब्ध नभएको र पछिल्लो समय यसको माग अत्यधिक बढिरहेको कारण विद्यालयले सो पाठ्यक्रम सञ्चालन गर्न लागेको हो। विद्यालयले हालैदेखि पूर्वाधार व्यवस्थापन तथा अन्य तयारी कार्य सुरु गरिसकेको छ।

विद्यालयका प्राचार्य बालकृष्ण लम्सालका अनुसार, राम तुलसी मा.वि. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँग आबद्ध विद्यालय भएकाले विषय थप गर्ने प्रक्रिया अघि बढाइएको हो। “होटल म्यानेजमेन्ट विषय सञ्चालनले विशेषगरी आर्थिक रूपमा कमजोर तथा बाहिर गएर अध्ययन गर्न नसक्ने विद्यार्थीहरूलाई ठूलो अवसर दिनेछ,” लम्सालले बताए। साथै, विद्यालयलाई निरन्तर साथ दिइरहेका अभिभावक, शिक्षक तथा स्थानीय समुदायलाई धन्यवाद व्यक्त गर्दै उनले कार्यक्रमको सफल कार्यान्वयनमा सबैको सहयोग अपेक्षा गरेका छन्।

शैक्षिक उत्कृष्टतासँगै सामाजिक र सांस्कृतिक गतिविधिमा समेत अग्रणी भूमिका खेल्दै आएको राम तुलसी मा.वि.ले हाल डिजिटल प्रविधि मार्फत शिक्षण सिकाइलाई प्रभावकारी बनाउँदै आएको छ। विद्यालयले समग्र विद्यार्थी विकासका लागि खेलकुद, सांस्कृतिक कार्यक्रम तथा सामुदायिक सेवा अभियानसमेत सञ्चालन गर्दै आएको छ।

होटल म्यानेजमेन्ट कक्षा सञ्चालनको तयारीले पाल्पा जिल्लाका विद्यार्थीहरूमा नयाँ उत्साह थपिएको छ। यसले भविष्यमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै स्थानीय पर्यटन तथा आतिथ्य सेवा क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रकाशित : २०८२ असार ८ गते २२:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology