नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध, वैकल्पिक मार्गमा पनि बाढीको प्रभाव

www.kandaranews.com
प्रकाशित : २०८२ असार ९ गते १०:१५

नवलपुर, असार ९
लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध बनेको छ भने वैकल्पिक मार्गसमेत प्रयोगविहीन भएको छ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१, दुम्किबासस्थित विनयी खोलामा डाइभर्सन बगाएपछि सवारी आवागमन रोकिएको हो। यसपछि प्रयोगमा ल्याइएको वैकल्पिक मार्ग — दुम्किबास–सर्दी–होङ्सी सिमेन्ट गेट सडकसमेत आज विहानदेखि पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार विनयी त्रिवेणी गाउँपालिका–३ स्थित खरङ्गे खोलामा पानीको बहाव उच्च भएकोले कुनै पनि प्रकारको सवारी आवतजावत असम्भव बनेको छ।

“पहिलो चरणमा डाइभर्सन बग्दा साना तथा मध्यम सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गरेर कटाइएको थियो,” डीएसपी नेपालले भने, “तर अहिले उक्त मार्ग पनि बाढीले अवरुद्ध बनाएकाले सवारी साधनहरूलाई सुरक्षित स्थानमा राखिएको छ।”

यातायात व्यवस्था सहज बनाउन सम्बन्धित निकायको टोली परिचालित गरिएको र अवस्था अनुगमन भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रकाशित : २०८२ असार ९ गते १०:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology