पूर्वखोला गाउँपालिकाले ४६ करोड ८३ लाख बराबरको अनुमानित बजेट प्रस्तुत

भुवन सिंजाली
प्रकाशित : २०८२ असार ११ गते १९:३७

असार १०, पूर्वखोला पाल्पा
पूर्वखोला गाउँपालिका आर्थिक वर्ष २०८२/८३ का लागि ४६ करोड ८३ लाख ४४ हजार ९ सय ९५ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ।

गाउँसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले बजेट वक्तव्य प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटमध्ये २२.५९ प्रतिशत पूर्वाधार विकास, ४८.७० प्रतिशत सामाजिक विकास, ६.८८ प्रतिशत आर्थिक विकास, २१.१७ प्रतिशत संस्थागत विकास, सेवा प्रवाह र सुशासन तथा ०.६६ प्रतिशत वातावरण तथा विपद् व्यवस्थापनतर्फ विनियोजन गरिएको छ।

उपाध्यक्ष भट्टराईले आर्थिक विधेयकअन्तर्गत मालपोत/भूमिकर, घर/जग्गा बहाल कर, व्यवसाय कर, जडीबुटी तथा कवाडी, जिवजन्तु, मनोरञ्जन कर, विज्ञापन कर, बहाल बिटौरी कर, पार्किङ शुल्क, सेवा दस्तुर, नक्सापास शुल्क, बिक्री तथा निकासी शुल्क, सवारी साधन कर लगायत शीर्षकमा अनुमानित राजस्व स्रोत प्रस्ताव समेत पेश गर्नुभएको थियो।

प्रशासकीय प्रमुख सुन्दर प्रसाद श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको कुल बजेट ४६ करोड ९ लाख ४९ हजार ७ सय ७९ रुपैयाँमध्ये असार ९ गतेसम्म ४० करोड ९७ लाख ६६ हजार ८ सय ६५ रुपैयाँमात्र प्राप्त भएको छ। प्राप्त बजेटमध्ये २६ करोड १९ लाख २७ हजार १ सय ५ रुपैयाँ चालु खर्च (७५.०४%) र ६ करोड ९ लाख ९ हजार ८९४ रुपैयाँ पुँजीगत खर्च (५४.४३%) गरी कुल ७०.०३ प्रतिशत खर्च भएको जानकारी दिनुभयो।

शेष रकमको पनि अन्तिम चरणमा काम सकिएको उपभोक्ता समिति र निर्माण व्यवसायीहरूबाट फरफारक आउने क्रम रहेको र वर्षको अन्त्यसम्ममा करिब ९० प्रतिशत बजेट खर्च हुने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका रूपमा लामो समय सेवा गरेर अवकाश पाएका बिरकोट वडा अन्तर्गतका किमी सरा पल्लि र कान्ति सरा सारुलाई नगद २५,००० रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेको छ।

गाउँसभा सभाध्यक्ष नुन बहादुर थापाले बजेट वक्तव्य तथा आर्थिक विधेयकका कागजात सम्पूर्ण सभासदलाई उपलब्ध गराइएको जानकारी दिँदै आउँदो असार १९ गते छलफल तथा सल्लाह–सुझावसहित परिमार्जन गरी आर्थिक विधेयक पारित गरिने र असार २२ गते बजेट विनियोजन विधेयक पारित गरी अधिवेशन सम्पन्न गरिने कार्यसूची रहेको जानकारी दिनुभयो।


प्रकाशित : २०८२ असार ११ गते १९:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology