विद्युत महशुल वृद्धि र सेवामा देखिएको समस्याबारे सरोकारवालाबीच अन्तरक्रिया

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ असार २० गते २०:५३

असार १९, रामपुर (रमा भण्डारी)
रामपुर नगरपालिकामा विद्युत सेवामा देखिएका समस्या र हालै भएको महसुल वृद्धिबारे सरोकारवालाबीच बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल पावर कम्पनी लिमिटेड (विपिसी) आँधीखोला जलविद्युत केन्द्र गल्याङका प्रतिनिधि, नगर भित्रका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, कर्मचारी, पत्रकार र स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले, “सेवाको गुणस्तरमा सुधार नगरी महसुल अत्यधिक वृद्धि गर्नु नागरिकप्रति अन्याय हो,” भन्दै समस्या समाधानमा विपिसीले तत्काल ध्यान दिनुपर्ने बताए। विद्युत आपूर्तिमा अनियमितता हुँदा उद्योग, व्यापार, खानेपानी तथा अन्य योजनाहरु प्रभावित भएको उनले बताए।

नेपाली कांग्रेस रामपुर नगर समितिका सभापति नेत्र प्रसाद भट्टराईले कम्पनी र संघर्ष समिति बीच गुणस्तर सुधारपछि मात्र महसुल वृद्धि गर्ने सहमति भए पनि एकतर्फी रुपमा महशुल बढाउनु आपत्तिजनक भएको धारणा राखे। नेकपा एमाले नगर कमिटी उपाध्यक्ष अशोक श्रेष्ठले पोल व्यवस्थापन र भोल्टेज सुधार तत्काल गर्नुपर्ने बताए।

रामपुर नगरपालिकाका विभिन्न वडाध्यक्षहरुले स्थानीय तहमा नागरिकको गुनासो सुनाउँदै बाँसका पोलबाट झुण्ड्याइएका तारहरू हटाउनुपर्ने, महसुल छुट दिनुपर्ने र सेवा सुधारको माग गरे।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य कमलराज भट्टराईले विपिसीमा जनताको लगानी रहेको स्मरण गराउँदै छलफल विना महशुल वृद्धि गर्नु दुखद भएको बताए। “सेवामा गुणस्तर नदिने हो भने वैकल्पिक उपाय खोजिनु पर्ने हुन्छ,” उनले भने।

पत्रकार दुर्गेश मल्ल, रमा भण्डारी र शोभाकान्त पाठकले पनि आफ्नो जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए।

बुटवल पावर कम्पनी आँधीखोला वितरण केन्द्र गल्याङका वितरण प्रमुख डिल्लीराम ढकालले सहभागिहरूको गुनासो सम्बोधन गर्दै कम्पनी सेवा सुधारको दिशामा अघि बढेको जानकारी दिए। उनले रामपुर–चापाकोट क्षेत्रमा यस वर्ष ८० वटा पोलहरू प्रतिस्थापन गरिने जानकारी पनि दिए।


प्रकाशित : २०८२ असार २० गते २०:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology