लन्डन, १७ जुलाई २०२५
गैरआवासीय नेपाली संघ (NRNA) युकेको आगामी कार्यकाल (२०२५–२०२७) का लागि सचिव पदमा कृष्ण देवकोटाले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि बेलायतमा नेपाली समुदायसँग सामाजिक सेवामा सक्रिय रहँदै आएका देवकोटाले आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने जनाएका हुन्।
“नेपालीका लागि, नेपालीद्वारा” भन्ने मूल नाराका साथ देवकोटाले सचिव पदमा उम्मेदवारी दिँदै समुदायको विश्वास जित्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत मतदाताहरूसँग आग्रह गर्दै लेखेका छन्, “युकेमा बसोबास गर्नुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा मित्रजनहरू — तपाईंहरूको माया, आशीर्वाद र हौसलाले मलाई समाजसेवामा लागिरहन ऊर्जा मिलेको छ।”
उनले एनआरएनए युकेको सचिव पदको जिम्मेवारी पाउनका लागि सबै सदस्यको अमूल्य मत र समर्थनको अपेक्षा गरेका छन्। निर्वाचन आउँदो २६ जुलाई २०२५ मा हुने तय भएको छ।
देवकोटा बेलायतस्थित नेपाली सामाजिक अभियानहरूमा नेतृत्वदायी भूमिका खेल्दै आएका छन्। विभिन्न सामाजिक, सांस्कृतिक र सहयोगमूलक कार्यक्रममा निरन्तर सक्रिय रहँदै आएका उनले प्रवासी नेपालीहरूको हकहित, पहिचान र समस्याहरूको समाधानमा संस्थागत ढंगले योगदान पुर्याउने लक्ष्य लिएका छन्।
उनको उम्मेदवारीसँगै युकेको नेपाली समुदायमा नयाँ नेतृत्वप्रति चासो थपिएको देखिएको छ।
प्रकाशित : २०८२ साउन २ गते १८:१९
Facebook Comment