महिलाले उत्पादन गरेका घरेलु सामग्री बिक्रीमा रामपुर नगरपालिकामा कोसेली घर ।।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ साउन १० गते १८:३८

साउन ९ रमा भण्डारी रामपुर पाल्पा

महिला उद्यमीलाई प्रवर्द्धन गर्न रामपुर नगरपालिकामा कोसेली घर सञ्चालनमा ल्याइएको छ । रामपुर नगरपालिका क्षेत्रका महिलाले उत्पादन गरेका घरेलु सामग्री बिक्रीमा सहज बनाउन रामपुर नगरपालिकाले कोसेली घर सञ्चालनमा ल्याएको हो ।
रामपुर नगरपालिकाले नगर क्षेत्रका महिलाका लागि विगतमा सञ्चालन गरेका सीपमूलक तालिमबाट उद्यमी बनेका महिलाहरुले उत्पादन गरेका घरेलु सामग्री कोसेली घरमा बिक्रीका लागि राखिएको छ । कोसेली घरमा महिलाले व्यक्तिगत र सामूहिक उत्पादन गरेका सर्फ, झोल साबुन, फिनेल, आलु चिप्स, थाकल, मकैको खोस्टाबाट बनेका विभिन्न सामग्री, दुनाटपरी, फूलदानी, अगरबत्ती लगायतका सामग्री राखिएको उपप्रमुख बालकुमारी थापाले बताइन् ।
यहाँ निम, सिस्नो, पाति, एलोभेराबाट निर्मित साबुन, झोलालगायत महिलाले निर्माण गरेका सामग्रीलाई बजार व्यवस्थापन सहजता ल्याउन खोजिएको उनले बताइन् । कोसेली घर सञ्चालनमा ल्याएपछि उद्यमी महिलाहरु उत्साहित भएको उपप्रमुख थापाले बताइन् । कोसेली घरलाई व्यवस्थित गर्दै लैजाने र महिलालाई उद्यमी बनाउन सामग्री किन्ने योजनासमेत नगरपालिकाले बनाएको छ ।
कोसेली घरमा वडा नम्बर १ को झोल साबुन, वडा २ को अर्गानिक नुहाउने साबुन, वडा ६ को आलु चिप्स, वडा ८ को सर्फ राखिएको छ । यसबाहेक पनि प्राकृतिक रेशाजन्य वनस्पतीको पोस्करबाट बनेको टोपी, झोला, दुना टपरी, पोतेमाला, चुरा लगायतका सामग्रीहरु बिक्री वितरणका लागि राखिएको छ । नगरपालिकाले महिलालाई उद्यमशील बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ ।
तालिममा सहभागी भएर सिकेका सीपबाट महिला उद्यमीहरूले आफ्ना उत्पादन तयार पार्छन् । रामपुर बेझाँडमा सुरु भएको कोसेली घरमार्फत बिक्री वितरण गरिँदै आएको छ । यसले उनीहरूको आत्मनिर्भरता र आर्थिक स्थितिमा सुधार ल्याएको छ । साबुन, फिनेल उत्पादन गरेर कोसेली घरले बिक्री तथा प्रवर्द्धनमा सहयोग पुगेको वडा २ की उद्यमी महिला सीता घर्ति क्षेत्रीले बताइन् । सर्फ उत्पादन गर्ने र बिक्रीका लागि कोसेली घरमा ल्याउने गरेको वडा ८ की उद्यमी महिला सरिता अर्यालले बताइन् । महिला उद्यमशीलता र आत्मनिर्भरता प्रवर्द्धनमा कोसेली घरको महत्त्वपूर्ण भूमिका रहेको छ।

 


प्रकाशित : २०८२ साउन १० गते १८:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology