दोहा, कतार — गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको ११औं राष्ट्रिय एकता महाधिवेशन क्राउन प्लाजा होटल, नज्मामा भव्य रूपमा सम्पन्न भएको छ। सयौं पञ्जीकृत सदस्यहरूको उत्साहपूर्ण उपस्थिति रहेको कार्यक्रममा कृष्ण पन्थी सर्वसम्मत रूपमा आगामी कार्यकाल (२०२५–०२७) का लागि अध्यक्षमा चयन भएका छन्।
महाधिवेशनको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थ एवं परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत रहेका थिए भने संघका अध्यक्ष रमेश भट्टले सभाध्यक्षता गरेका थिए। डा. महतले कतारमा एनसीसीको एकता अपरिहार्य रहेको भन्दै समावेशी, साझा र स्थायी नेतृत्वमार्फत एकीकृत प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा एनआरएनए आइसीसीका पदाधिकारी, भूतपूर्व अध्यक्षहरू, संघ–संस्थाका प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको उपस्थिति थियो। कार्यक्रममा विभिन्न मन्तव्यहरू मार्फत कतारको एनआरएनएमा देखिएको विघटनप्रति चिन्ता व्यक्त गर्दै सामाजिक एकताको सन्देश दिइएको थियो।
पुरस्कार र सम्मान
महाधिवेशनमा एनसीसी कतारले स्थापना गरेका पुराना पुरस्कारहरू वितरण गरियो।
- साहित्य पुरस्कार: श्यामराज रानाभाट
- पत्रकारिता पुरस्कार: राम एकवाल राम
- खेलकुद र स्वास्थ्य पुरस्कार: दिलीप कार्की
तीनै जनालाई जनही १५ हजार कतारी रियालसहित सम्मान गरिएको थियो।
त्यसैगरी, कार्यसम्पादनमा योगदान पुर्याउने पदाधिकारी, सल्लाहकार, पत्रकार तथा सहयोगी संस्थाहरूलाई पनि सम्मान गरिएको थियो।
आय–व्यय र कार्यप्रगति
कोषाध्यक्ष बुद्ध पाण्डेले प्रस्तुत गरेको विवरण अनुसार हालसम्म १ लाख ३१ हजार ८९५ कतारी रियालको बचत छ भने १२ हजार ५७१ रियाल उठ्न बाँकी छ। महासचिव रविन मगरले कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए, जसलाई महाधिवेशनले अनुमोदन गरेको छ।
नव निर्वाचित कार्यसमिति
अध्यक्ष कृष्ण पन्थी नेतृत्वमा चयन भएको कार्यसमितिमा:
- प्रथम उपाध्यक्ष: रविन मगर
- द्वितीय उपाध्यक्ष: सन्तोष पौडेल
- तृतीय उपाध्यक्ष: जहागिर आलम
- महिला उपाध्यक्ष: टौमाया गुरुङ
- युवा उपाध्यक्ष: मेहर सिंह तामाङ
- महासचिव: विवेक पुलामी मगर
- सचिव: बुद्ध पाण्डे, सुजन गुरुङ, अर्जुन संग्रौला
- कोषाध्यक्ष: कविन्द्र कँडेल
- सह–कोषाध्यक्ष: कान्छा श्रेष्ठ (अजय)
- महिला संयोजक: कल्पना पुन मगर
- युवा संयोजक: केशवराज मल्ल (केशु)
साथै, २० भन्दा बढी कार्यसमिति सदस्यहरू, लेखा समिति (संयोजक रामप्रसाद गौतम), अनुशासन समिति (संयोजक टक कुमार खड्का) पनि सर्वसम्मत चयन भएका छन्। निर्वाचन समितिका संयोजक नरेन्द्र भाटले सबै पदाधिकारीहरूलाई शपथ गराएका थिए।
सांस्कृतिक प्रस्तुति र समापन
कार्यक्रममा नेपालबाट आमन्त्रित गायक बाबुराम पन्थीले सांगीतिक प्रस्तुति दिएका थिए।
सभाको समापनतिर अध्यक्ष भट्टले कतारमा रहेका सबै संघ–संस्थाको सहकार्यप्रति आभार व्यक्त गर्दै केही विचलन देखिए पनि सबै फेरि एक भएर अघि बढ्ने विश्वास व्यक्त गरे।

प्रकाशित : २०८२ साउन १२ गते १५:४३
Facebook Comment