पाल्पा, – पाल्पाली सेवा समाज, दोहा कतारको सक्रिय पहलमा पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ७ निवासी श्री धर्मेन्द्र नेपालीको उपचारका लागि आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ।
कतारस्थित पाल्पाली समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूबाट संकलित रु. ३८,१०० बराबरको रकम संस्थापक सदस्य श्री भरत कुमार रसाली तथा पूर्व सदस्य श्री अरुण कुमार रसालीमार्फत बिरामीलाई हस्तान्तरण गरिएको हो।
पूर्व क्रियाशील सदस्यसमेत रहनुभएका धर्मेन्द्र नेपालीलाई हाल उच्च रक्तचाप (प्रेसर) का कारण पक्षघात (प्यारालाइसिस) भएको, शरीरको एक भाग नचल्ने, स्पष्ट बोल्न नसक्ने र समय–समयमा आफन्तजनलाई समेत नचिन्नेजस्ता गम्भीर स्वास्थ्य समस्या देखिएको छ। आर्थिक तथा पारिवारिक अवस्था कमजोर रहेका उहाँको उपचारमा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको हो।
यस सन्दर्भमा, पाल्पाली सेवा समाज दोहा कतारका अध्यक्ष श्री विश्वनाथ भट्टराईले हाम्रो मिडियासँग कुरा गर्दै, “आगामी दिनमा पनि दुखी, असहाय तथा विपद्मा परेकालाई समाजले सक्दो सहयोग गर्दै जानेछ,” भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समाजले सहयोगमा संलग्न हुने सम्पूर्ण कतारस्थित पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक आभार प्रकट गरेको छ।
प्रकाशित : २०८२ साउन १२ गते २०:५१
Facebook Comment