साउन १६, रामपुर (रमा भण्डारी) —
पाल्पा जिल्लाको रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा हाइमास्ट लाइट जडान भएपछि स्थानीयवासी खुशी भएका छन्। लुम्बिनी प्रदेश सरकारको ३५ लाख रुपैयाँको लगानीमा जडान गरिएको उक्त लाइटले रातको समयमा बजार क्षेत्र उज्यालो बनाएको छ।
नेपाल सरकार, लुम्बिनी प्रदेशको ऊर्जा तथा जलस्रोत मन्त्रालयको सहयोगमा बजार क्षेत्रमा हाइमास्ट लाइटसँगै सीसीटिभी क्यामेरा पनि जडान गरिएको छ। यसले सुरक्षालाई थप मजबुत बनाउने स्थानीय बासिन्दाहरूको विश्वास छ। स्थानीयका अनुसार अब अपराधिक गतिविधि, चोरीजस्ता घटना नियन्त्रण हुने, भएका घटना पत्ता लगाउनसमेत सहज हुने छ।
प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले उज्यालो वातावरण निर्माण गर्दै सामाजिक तथा आर्थिक सुरक्षालाई बलियो बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “रामपुरजस्ता सम्भावनायुक्त ठाउँहरूमा प्रदेश सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। उज्यालो र सुरक्षित वातावरण बनाउन हाइमास्ट लाइटले ठूलो भूमिका खेल्नेछ।”
सांसद श्रेष्ठले रामपुर र चापाकोट क्षेत्रलाई एउटै शहरका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको जानकारी दिँदै, लाइट बालिएपछि त्यसको बिजुली खर्च व्यहोर्ने रामपुर नगरपालिकालाई धन्यवादसमेत दिनुभयो।
यसै अवसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बजार क्षेत्रको सुरक्षा, सौन्दर्यकरण र व्यवसायिक सहजता बढाउन हाइमास्ट लाइट जडान गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “बजार क्षेत्रमा रातको समयमा अपराधिक गतिविधि हुन नदिन र सर्वसाधारणलाई सुरक्षित वातावरण बनाउन यो योजना आवश्यक थियो। अहिले बजार झलमल्ल भएको छ, स्थानीय अत्यन्तै सन्तुष्ट देखिएका छन्।”
वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, प्रदेश सांसद राजु प्रसाद श्रेष्ठ, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख राम बहादुर नेपालीलगायत अन्य सरोकारवालाहरूले संयुक्त रूपमा योजनाको स्थलगत अवलोकन गरी सार्वजनिक रूपमा खुसी व्यक्त गरेका थिए।
प्रकाशित : २०८२ साउन १७ गते १७:५७
Facebook Comment