दोहा, कतार — लोक तथा दोहोरी गायिका देवी घर्ती मगर आउँदो शुक्रबार कतारमा हुने तिज विशेष कार्यक्रम–२०२५ मा सांगीतिक प्रस्तुति दिने भएकी छन्। अल दाना ब्युटी सैलुन र आयुषा ब्युटी सैलुनको आयोजनामा हुने कार्यक्रम नजमास्थित दि क्राउन प्लाजामा दिउँसो ४ बजेबाट सुरु हुने सैलुनकी सञ्चालिका तथा कार्यक्रम संयोजक आयुसा श्रेष्ठ खड्काले जानकारी दिइन्।
उनका अनुसार कार्यक्रमको प्रवेश निःशुल्क रहनेछ र यसलाई व्यावसायिक उद्देश्यका लागि नभई कतारमा रहेका नेपाली दिदीबहिनीबीच भेटघाट र तिजको सामूहिक उत्सव मनाउने उद्देश्यले आयोजना गरिएको हो। खड्काले विगत दुई वर्षदेखि सैलुनका नामबाट तिज विशेष कार्यक्रम गर्दै आएकी छन्।
घर्ती मगरका पछिल्ला चर्चित गीतमा ‘खोली सलल’, ‘मयाली’, ‘गुड्दै जाने रेल’, ‘माया आउने बस’ लगायतका गीत समावेश छन्। कार्यक्रममा कतारमा रहेका गायक इशान रेग्मी र गायिकाद्वय रेश्मी सेन्चुरी तथा आन्यासहित अन्य कलाकारले समेत प्रस्तुति दिनेछन्। कार्यक्रमको सहजीकरण अग्रज पत्रकार तथा कुशल कार्यक्रम सञ्चालक विजय राज अधिकारी र अनु बस्नेत सुवेदीले गर्नेछन्।

प्रकाशित : २०८२ साउन २७ गते १८:५८
Facebook Comment