रमा भण्डारी रामपुर, पाल्पा प्रकाशित : २०८२ साउन ३१ गते १९:४३
साउन २९, रामपुर ।
रामपुर नगरपालिका–६, पूर्वटारमा सञ्चालित श्रीमद्भागवत महायज्ञ, शिवपुराण तथा श्रावणी महोत्सव–२०८२ अन्तिम चरणमा पुगेको छ। महायज्ञ मूलआयोजक समितिका अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापा रहिन्।
उपप्रमुख थापाले नगरका सबै क्षेत्रमा विकास निर्माण आवश्यक भएकाले पूर्ण रूपमा सहयोग गर्न नसके पनि सङ्गीत पाठशाला निर्माणका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको बताइन्। उनले विभिन्न शीर्षकमा बजेट विनियोजन भइसकेको र आगामी बजेटमा थप समेट्ने प्रतिवद्धता जनाइन्।
रामपुर भजनकीर्तन मण्डलीको आयोजनामा सञ्चालित महायज्ञमा भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो। महायज्ञ सफलतापूर्वक सम्पन्न गर्न सबैलाई साथ र सहयोग गर्न अनुरोध गरिएको छ।
पण्डित नेत्रप्रसाद पराजुलीको मुखारविन्दबाट सङ्गीतमय शैलीमा कथा प्रवचन भइरहेका महायज्ञमा दान संकलन क्रम जारी छ। साउन २९ गतेसम्म २२ लाख रुपैयाँ दान संकलन भएको अध्यक्ष अर्यालले जानकारी दिएका छन्।
Facebook Comment