भदौ १, रामपुर (रमा भण्डारी)
पाल्पाको रामपुर नगरपालिका–३ स्थित सीता माध्यमिक विद्यालयमा विद्यार्थीहरूको लागि निःशुल्क भोजनालय सञ्चालनमा आएको छ। पवित्र धार्मिक स्थल सीताकुण्डसँगै रहेको विद्यालयले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भोजनालय शुभारम्भ गरेको हो।
पूर्वविद्यार्थीहरूको सहयोगमा सञ्चालनमा ल्याइएको “अन्नपूर्ण भोजनालय” विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि विशेष रुपमा सञ्चालन गरिएको हो।
शुभारम्भ समारोह सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिर्थबहादुर थापाको अध्यक्षता तथा रामपुर नगर प्रमुख रमणबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले ग्रामीण क्षेत्रका विद्यार्थीलाई समयमा विद्यालयमा आउन कठिनाइ हुने अवस्थालाई यस भोजनालयले सहज बनाउने बताए। उनले विद्यालयको शैक्षिक विकासका लागि पूर्वविद्यार्थीहरूले चालेको पहल प्रशंसनीय रहेको उल्लेख गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।
अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष तथा पूर्वविद्यार्थी सन्दीप रानाले संस्कारसहितको नैतिक शिक्षा र शैक्षिक गुणस्तर वृद्धिका लागि देश–विदेशमा रहेका पूर्वविद्यार्थीहरूको संयुक्त पहलमा भोजनालय स्थापना भएको बताए। उनले यस अभियानमा अझै धेरै पूर्वविद्यार्थीलाई जोडिन आग्रह गरे।
रामपुर नगरपालिका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष कपिलबहादुर खाँण र वडा नं. ३ का अध्यक्ष दामोदर पाठकले भोजनालयलाई दीगो बनाउन नगर र वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।
विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद खनालले हरेक दिन बिहान ८ बजेदेखि १० बजे सम्म विद्यार्थीलाई संस्कार, संस्कृति, योग–ध्यान तथा नैतिक शिक्षा प्रदान गर्ने कार्यक्रमसहित शुद्ध शाकाहारी भोजन उपलब्ध गराइने जानकारी दिए।
कार्यक्रममा सहायक प्रधानाध्यापक जीवन पराजुलीले स्वागत, वडा सदस्य मोहनसिं रानाले धन्यवाद मन्तव्य राखेका थिए भने सञ्चालन विद्यालयका शिक्षक सन्तोष थापाले गरेका थिए।
यसै अवसरमा श्रीकृष्ण जन्माष्टमी पर्वमा सयौँ भक्तजन सीताकुण्ड पुगेका थिए। पर्वकै अवसरमा समाजसेवी पत्रकार महासंघ पाल्पाका सहसचिव दुर्गेस मल्लसहित मल्ल परिवारले ८ किलो तौलको १७ हजार मूल्य बराबरको घण्टी सीताकुण्ड मन्दिरको प्रवेशद्वारमा स्थापना गरेका छन्।
रामपुर नगरपालिकाले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा सीताकुण्डलाई प्रवर्द्धन गर्ने उदेश्यले आगामी विवाह पञ्चमीमा भव्य कार्यक्रम गर्ने जानकारी पनि दिएको छ।




प्रकाशित : २०८२ भदौ १ गते १०:५४
Facebook Comment