
भदौ ५, रामपुर ।
रामपुर नगरपालिकामा उप–प्रमुख तीज विशेष कार्यक्रम अन्तर्गत आयोजित खुला मौलिक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। नगर उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य विष्णु सापकोटा रहनुभएको थियो। उहाँले पानसमा बत्ति बालेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहमा बोल्दै सापकोटाले वर्तमान संविधानले कुनै पनि प्रकारको विभेद नगरेको उल्लेख गर्नुभयो। अधिकार सम्पन्न हुँदाहुँदै पनि कतिपय पुरुषहरूको सोचका कारण महिलाहरू अझै पछि परेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, “विगतमा पुरुषहरूले आफ्नो अनुकूल कानुन निर्माण गरेकाले महिलाहरू पछि परे, तर वर्तमान संविधानले महिलाहरूलाई अधिकार सम्पन्न बनाएको छ। यो व्यवस्थालाई फेल हुन दिनुहुँदैन, संघीयताका कारण सिंहदरबार जनताको घरदैलोमा पुगेको छ।”
त्यसैगरी उहाँले धर्म, संस्कार र संस्कृतिलाई जोगाइराख्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै आयोजक पक्षले नगरकाे सम्भावना, विकास, धार्मिक तथा पर्यटकीय महत्त्व र महिला अधिकारलाई समेट्ने मौलिक गीत सिर्जना गर्ने लक्ष्य रहेको जानकारी दियो।
प्रतियोगितामा नगर क्षेत्रका १५ वटा संघ–संस्था तथा समूहका दिदीबहिनीहरूले सहभागिता जनाएका थिए। निर्णायक मण्डलका संयोजक लेखनाथ शर्मा मरासिनीका अनुसार,
- प्रथम: रामपुर अंग्रेजी आवासीय मा.वि. रामपुर–५ की अनिसा रानाको समूह (नगद ३०,००० र प्रमाणपत्र)
- द्वितीय: नेपाल विद्यार्थी संघ, शहीद बहुमुखी क्याम्पसकी शशी ढकालको समूह (नगद २०,००० र प्रमाणपत्र)
- तृतीय: क्षेत्री समाज रामपुरको समूह (नगद १०,००० र प्रमाणपत्र)
- सान्त्वना: नवदुर्गा आमा समूह, रामपुर–३ की दुर्गा भट्टराईको समूह (नगद ५,००० र प्रमाणपत्र)
विजयी समूहलाई राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटा, रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापा र उपप्रमुख बालकुमारी थापाले पुरस्कार प्रदान गर्नुभएको थियो।
कार्यक्रममा नगर सल्लाहकार विष्णु माया ढकाल, नेपाल महिला संघ रामपुर नगर उपसभापति सावित्रा गैरे, अखिल नेपाल महिला संघ नगर अध्यक्ष राधिका भण्डारीलगायतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन महिला विकास शाखा प्रमुख पुजा परियार र कर्मचारी पार्वति परियारले संयुक्त रुपमा गर्नुभएको थियो।

प्रकाशित : २०८२ भदौ ५ गते १७:२५
Facebook Comment