भदौ ७, रामपुर (रमा भण्डारी)
विश्व बन्धुत्व दिवसको अवसरमा रामपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ब्रमकुमारी इश्वरीय विश्वविद्यालय शाखा कार्यालय रामपुरको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको समन्वयमा कार्यक्रम गरिएको हो।
कार्यक्रम लुम्बिनी मेडिकल कलेज प्रभास, तानसेनको प्राविधिक टोलीले सञ्चालन गरेको थियो। रामपुर शाखाको सभाहलमा आयोजित कार्यक्रममा २३ जनाले स्वेच्छिक रक्तदान गरेका थिए। जानकारी दिँदै ब्रमकुमारी इश्वरीय विश्वविद्यालय रामपुर शाखाकी ब्रमकुमारी सरस्वती पाण्डेले रक्तदान मानव सेवाको महान कार्य भएको उल्लेख गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिका–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो। उहाँले रामपुरमै ब्लड बैंक स्थापना गर्ने पहल भइरहेको जानकारी दिंदै, रक्तदान जस्तो मानवसेवामूलक कार्य गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो।
त्यस्तै, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाले रक्तदान जीवन बचाउने पुण्य कार्य भएको उल्लेख गर्दै स्वास्थ्यले साथ दिने समयसम्म नियमित रक्तदान गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा पहिलो रक्तदान रामपुर नगरपालिका–५ का राजु खनालले गर्नुभएको थियो। कुल २३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका अध्यक्ष मनोरथ भट्टराईले जानकारी दिनुभयो।
कार्यक्रमको सञ्चालन ब्रमकुमारी सरस्वती पाण्डेले गर्नुभएको थियो। ब्रमकुमारी इश्वरीय विश्वविद्यालयले यस दिवसका अवसरमा देशभर एकैदिन रक्तदान कार्यक्रम आयोजना गरेको हो।
प्रकाशित : २०८२ भदौ ७ गते १८:५१
Facebook Comment