भदौ ८, रामपुर (रमा भण्डारी)_
रामपुर साना सहरी खानेपानी तथा उपभोक्ता संस्था, रामपुर पाल्पाको तेस्रो अधिवेशनअन्तर्गत आइतबार मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन मण्डलले सार्वजनिक गरेको तालिका अनुसार तोकिएको समयमै मनोनयन दर्ता प्रक्रिया पूरा भएको हो।
निर्वाचन अधिकृत सूर्यदर्शन पण्डितका अनुसार संस्थाका १८ पदका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यसपटकको निर्वाचनमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ। संयुक्त प्यानल र नेपाली कांग्रेस प्यानलले उम्मेदवार प्रस्तुत गरेका छन्।
अध्यक्ष पदमा संयुक्त प्यानलबाट कमलराज भट्टराई र कांग्रेस प्यानलबाट हजिल दिन मिया प्रतिस्पर्धामा छन्। उपाध्यक्षमा प्रेम प्रकाश श्रेष्ठ र विष्णुमाया ढकाल, सचिवमा कीर्तिनाथ श्रेष्ठ र नीलकण्ठ पोखरेल तथा कोषाध्यक्षमा खेमराज घिमिरे र भोजराज भट्टराईबीच प्रतिस्पर्धा हुनेछ।
खुला सदस्यतर्फ नौजनाले उम्मेदवारी दिएका छन्। ब्लक नम्बर १ देखि ६ सम्ममा दुई-दुई उम्मेदवार तथा लेखा समिति संयोजकमा दुर्गाप्रसाद पोखरेल र कृष्णप्रसाद श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। लेखा समिति सदस्यमा चारजनाले उम्मेदवारी दर्ता गरेका छन्।
आगामी निर्वाचनमा कुल ३,६८४ मतदाताले मतदान गर्नेछन्।

प्रकाशित : २०८२ भदौ ८ गते २२:१२
Facebook Comment