देविनगर – महिला उत्थान गाउँ समन्वय समिति देविनगरको आयोजनामा र पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोगमा मातृभूमि माध्यमिक विद्यालयको प्राङ्गणमा भव्य तिज गीत तथा नृत्य कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा १३ वटा समूहका महिलाहरुले गीत तथा नृत्य प्रस्तुत गर्दै महिला अधिकार, पुरुषसँग बराबरी, हरेक क्षेत्रमा समावेशिता, हत्या–हिंसा तथा दाइजो प्रथाको अन्त्य, प्रविधिमा पहुँच, र अन्धविश्वास तथा कुरितीको अन्त्य जस्ता विषय उठाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिकाका प्रवक्ता तथा देविनगर वडा अध्यक्ष मेहरसिं थापाले महिला अधिकारको सुनिश्चितता राज्यले गरेको र विभिन्न तहका सरकार तथा कर्मचारी व्यवस्थामा महिला सहभागिता उल्लेखनीय भएको बताए। उनले महिलाको आर्थिक, सामाजिक र राजनीतिक भूमिकाले समाज परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै तिजको शुभकामना दिनुभयो।
गाउँ कार्यपालिकाकी सदस्य रेवति सरा घर्तीले महिला प्रतिको दृष्टिकोण व्यवहारमा फरक देखिने भएकाले सुधार आवश्यक रहेको र महिला मैत्री समाज निर्माण गर्न सबैको एकजुटता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा देविनगर वडाका सदस्य लक्ष्मी वि.क., मुकुन्द प्रा.वि.का प्रा.अ. लक्किमाया सिंजाली, कल्पना सिंजाली, मातृभूमि मा.वि.का प्रा.अ. यमबहादुर खत्रीले पनि महिला अधिकार र तिजको महत्वका बारेमा शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रम महिला उत्थान गाउँ समन्वय समितिका सचिव चुनि सरा थापाको संचालन र अध्यक्ष विष्णुमाया घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित : २०८२ भदौ १० गते २०:५४
Facebook Comment