रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन खर्च सार्वजनिक

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ असोज ७ गते ११:४८

रामपुर (पाल्पा), असोज ७ – रमा भण्डारी

रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेको छ। भदौ २१ गते सम्पन्न तेस्रो अधिवेशन एवं नेतृत्व हस्तान्तरणसम्मको सम्पूर्ण खर्च विवरण संस्थाले निर्वाचन समितिको समन्वयमा सार्वजनिक गरेको हो।

कार्यक्रम संस्थाका नवनिर्वाचित अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वक्ताहरूले नयाँ कार्यसमितिलाई बधाई दिँदै संस्थामा मितव्ययिता अपनाउन, राजनीति भन्दा पर राखी योजना कार्यान्वयनमा जोड दिनुपर्नेमा आग्रह गरे।

निर्वाचन समितिका संयोजक सुर्यदर्शन पण्डितका अनुसार तेस्रो अधिवेशनमा कुल ६ लाख २ रुपैयाँ खर्च भएको छ।

यस अवसरमा संस्थाका निवर्तमान अध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले नयाँ समितिलाई शुभकामना व्यक्त गर्दै “निर्वाचनमा देखाइएको मितव्ययिता संस्थाका हरेक काममा अपनाउनुपर्छ” भन्ने धारणा राखे। उहाँले ६२ करोड ८५ लाखको योजना तथा यस वर्षको ३ करोडको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न समितिलाई आग्रह गरे।

कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराई, संस्थापक उपाध्यक्ष हुमनाथ न्यौपाने, निवर्तमान उपाध्यक्ष हजुल मिया लगायतका वक्ताहरूले नयाँ नेतृत्वलाई उपभोक्ताको हितमा काम गर्न सुझाव दिएका थिए।

राजनीतिक दलका स्थानीय नेताहरू—काङ्ग्रेसका उपसभापति देवबहादुर थापा, एमालेका उपाध्यक्ष अशोक श्रेष्ठ, माओवादी केन्द्रका अध्यक्ष भिमबिश्व भट्टराई र एकीकृत समाजवादीका अध्यक्ष फण्डेश्वर गौतमले आ–आफ्ना धारणा राख्दै जनमुखी योजनामा जोड दिन आग्रह गरे।

सो अवसरमा रामपुर नगरपालिका–५ का वडा अध्यक्ष दुर्गाप्रसाद पोखरेल र वडा–४ का अध्यक्ष रामबहादुर रानाले खानेपानी आपूर्ति अझ चुस्त बनाउन समितिलाई सुझाव दिए।

कार्यक्रममा उपाध्यक्ष विष्णुमाया ढकालले स्वागत, कोषाध्यक्ष भोजराज भट्टराईले धन्यवाद ज्ञापन र सचिव निलकण्ठ पोखरेलले सञ्चालन गर्नुभएको थियो।



प्रकाशित : २०८२ असोज ७ गते ११:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology