चाडपर्वलाई मध्यनजर गर्दै रामपुरको बेझाडमा यात्रु सहायता कक्ष सञ्चालनमा

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ असोज ७ गते ११:५६

 

असोज ७, रमा भण्डारी, रामपुर पाल्पा

चाडपर्वका बेला यात्रुले भोग्नुपर्ने सास्ती कम गर्न रामपुरको बेझाड बजारस्थित प्रहरी बिटमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।

यो सहायता कक्ष इलाका प्रहरी कार्यालय रामपुरको आयोजनामा, नमस्ते यातायात, रामसिता यातायात तथा व्यापारी–व्यवसायीहरूको समन्वयमा स्थापना गरिएको हो। आज एक विशेष समारोहबीच कक्षको उद्घाटन गरिएको छ।

नमस्ते रामपुर यातायातका भोजराज भट्टराईका अनुसार, चाडपर्वका बेला हुने दोब्बर भाडा असुल्ने, एउटै सिटमा दुई वटा टिकट बिक्री गर्ने, यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुने जस्ता गतिविधि रोक्नकै लागि यो सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। कार्यक्रममा यातायात समितिका पदाधिकारी, चालक, व्यवसायी तथा व्यापारीहरूको सक्रिय सहभागिता थियो।

समारोहमा बोल्दै इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराईले चाडपर्वका बेला यातायातसँगै बजारमा समेत कालोबजारी हुने, म्याद गुज्रिएका अखाद्य सामग्री बिक्रीवितरण हुने जस्ता समस्या देखिने भएकाले यस्ता समस्या आएमा यात्रु तथा उपभोक्तालाई सहयोगका लागि सहायता कक्षमा सम्पर्क गर्न आग्रह गर्नुभयो। साथै उहाँले विजया दशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल, मुस्लिम आयोगका हजिल मिया, रामसिता यातायात प्रालिका प्रकाश ज्ञवाली, नमस्ते यातायात रामपुरका अध्यक्ष राजन पोखरेललगायतले बोलेका थिए। उनीहरूले चाडपर्वका बेला यात्रु र उपभोक्ताले भोग्नुपर्ने समस्यालाई ध्यानमा राखी सहायता कक्ष सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै सबैलाई शुभकामना दिए।

कार्यक्रमको अध्यक्षता इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख रामबहादुर नेपालीले गर्नुभयो भने सञ्चालन सहायक प्रमुख बाबुराम श्रेष्ठले गर्नुभएको थियो।


प्रकाशित : २०८२ असोज ७ गते ११:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology