वडा नं. ८ मा शुभकामना आदानप्रदान तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ असोज ९ गते २२:१०

 

असोज ९, रामपुर (रमा भण्डारी, पाल्पा)

रामपुर नगरपालिका वडा नम्बर ८ ले चाडपर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

वडा अध्यक्ष दिनेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा रहेका थिए । प्रमुख थापाले हाल समाजमा नराम्रा पक्षहरूको बढी प्रचारप्रसार भइरहेको उल्लेख गर्दै राम्रा कार्यलाई आत्मसात् गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले सिमित श्रोत र साधनका बाबजुद रामपुरमा विकासको कामले गति लिएको बताउँदै सकारात्मक कर्मका परिणाम सधैं मिठा हुने हुँदा विद्यार्थीहरूले पढाइलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै उहाँले विगतदेखि भइरहेका आन्दोलनहरूले व्यवस्था परिवर्तन मात्र गरेको तर अवस्था उस्तै रहेको स्मरण गराउँदै आगामी भविष्यप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो । प्रमुख थापाले आउँदै गरेका दशैं, दीपावली तथा छठ पर्वको शुभकामना पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा एसईई परीक्षामा ए प्लस ल्याउने विद्यार्थीहरू — आषिष श्रेष्ठ, आकाश देवकोटा, प्रतिक अधिकारी र समिर मानन्धरलाई फूलमाला, अविर, सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो । यस्तै कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने हिमानी जिटी र हेमकला सेनलाई पनि सम्मानपत्र, नगद तथा फूलमाला अविरसहित सम्मान गरिएको थियो ।

वडा सदस्य विष्णुमाया गैह्रेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गंगा मावि गंगाखोला का प्रधानाध्यापक देबराज देवकोटा, नेपाली कांग्रेस वडा कार्यसमिति सभापति गंगाबहादुर आचार्य, नेकपा एमाले वडा समिति अध्यक्ष शिव अधिकारी, खालिबन स्वास्थ्य चौकी प्रमुख सुवास अधिकारी, टोल समिति अध्यक्ष मुक्तिप्रसाद न्यौपाने, पत्रकार रमा भण्डारी, अपांग समन्वय समिति संयोजक देबिलाल अधिकारी, अभिभावक प्रकाश अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वडा कार्यलयको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको थियो ।


प्रकाशित : २०८२ असोज ९ गते २२:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology