🗓️ असोज १९, रामपुर (रमा भण्डारी)
रामपुर नगरपालिका–५, मटेरीमा ‘लालीगुराँस कप’ यू–१९ सेभेन ए साईड राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ। लालीगुराँस एसोसियशन रामपुरको आयोजनामा मटेरी ठुलोटारमा सुरु भएको प्रतियोगिताको उद्घाटन रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष सेनले रामपुरमा खेलकुद गतिविधिहरूले युवामा अनुशासन, एकता र सकारात्मक सोच विकास गर्न मद्दत गर्ने बताउनुभयो। उहाँले रामपुर नगरपालिका र खेलकुद विकास समितिले खेलाडी उत्पादन तथा प्रशिक्षणका माध्यमबाट खेलकुदको स्तर उकास्ने योजना अघि बढाइरहेको जानकारी दिनुभयो।
रामपुर नगरपालिका–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले युवाको सक्रियता र सहभागिताले समाजको रूपान्तरणमा ठुलो योगदान पुर्याउने उल्लेख गर्नुभयो।
त्यसैगरी समाजसेवी हजिल दिन मियाँ र ज्योतिपुञ्ज युवा क्लबका पूर्वअध्यक्ष सुदिप गौतमले खेल जित्न मात्र नभई सिक्नका लागि पनि खेल महत्वपूर्ण हुने बताउँदै खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन दिपेन्द्र भट्टराईले गर्नुभएको थियो भने स्वागत मन्तव्य खेल संयोजक आदेश रानाले गर्नुभयो।
उद्घाटन खेलमा आयोजक लालीगुराँस एसोसियशन रामपुरले युथ युनियन नवलपुरलाई १–० गोल अन्तरले पराजित गरेको छ। खेलको १४औँ मिनेटमा सुजित रुचालले गरेको गोल नै निर्णायक बनेको थियो।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछ। साथै, सेमिफाइनलमा पुग्ने टोलीलाई जनही २५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।



प्रकाशित : २०८२ असोज २० गते १०:०८
Facebook Comment